खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आङ खसेका महिलाहरुको निशुल्क शल्यक्रिया गर्न शीर मेमोरियल अस्पताल बनेपा लगेको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसर पारेर शनिबार २० जना आङ खसेका महिलाहरुलाई अस्पताल लगेको हो ।
आङ खसेको पहिचान भई शल्यक्रिया गर्नुपर्ने अवस्था भएका डिकुवाका २ जना, च्यास्मिटारका १ जना, बडहरेका २ जना, दुर्छिमका २ जना, मंगलटारका ४ जना, महादेवस्थानका ४ जना, सल्लेका १ जना र राजापानीका ४ जना महिलालाई अस्पताल लगिएको उपप्रमुख रमेश राउतले बताए । नगरपालिकाले गाडी रिजर्भ गरी महिलाहरुलाई अस्पताल लगेको हो ।

आङ खसेका महिलाहरुसँगै उपमेयर राउत, स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे, अर्खौले स्वास्थ्य चौकी प्रमुख विवेक पराजुली र स्वास्थ्यकर्मी गेलिसा राई बनेपा पुगेका छन् । महिलाहरुलाई आउनजान र अस्पतालले डिस्चार्ज गरेकाहरुलाई सम्पूर्ण व्यवस्था नगरपालिकाले र शल्यक्रिया तथा औषधि उपचारको सम्पूर्ण जिम्मा सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरले गर्ने नगरप्रमुख बिमला राईले बताइन् ।
नगरपालिकाले यही कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक वर्षमा २८ जना आङ खसेका महिला अस्पताल लगेकामा २० जना महिलाको निशुल्क शल्यक्रिया गरिदिएको थियो । सुगर, प्रेसर, फोक्सोमा समस्या, दमका समस्या लगायत स्वास्थ्य समस्याका कारण ८ जनाको भने शल्यक्रिया गरिएको थिएन ।