दिनराज कार्की ।
खोटाङमा विभिन्न कार्यक्रम गरी ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
अपांग सेवा संघ खोटाङ र नेपाल रेडक्रस सोसाइटी खोटाङको संयुक्त आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार हुनसक्ने बताएका छन्।
अपांग सेवा संघ खोटाङका कार्यवाहक अध्यक्ष जयनारायण कटुवालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको प्रमुख आथ्यितामा भएको कार्यक्रममा नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि सुमनबावु आचार्य, नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटि अध्यक्ष गोपालचन्द्र आचार्य, नेकपा माओवादी केन्द्र खाटाङका संयोजक दिपक पाण्डे, राप्रपा खोटाङका अध्यक्ष ललित कुमार राई, राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख गीता दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा ५ नं. वडाका वडाध्यक्ष दिनेश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, गैसस महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल, करुणा फाउन्डेसन नेपाल खोटाङका पालिका संयोजक अनिता कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, अपांगता भएका व्यक्ति लगायतको उपस्थिति रहेको अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर अध्यक्ष उमेशचन्द्र आचार्यले जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।