खोटाङ । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । दिक्तेलमा आयोजित कार्यक्रममा ‘पीडितकोभन्दा पिडकको पक्ष’मा भनसुन गर्ने धेरै देखिएको चर्चा चलेको छ ।
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले ‘पिडितको पक्षमा आवाज उठाउने थोरै तर पिडकको बचाउमा कुरा गर्ने धेरै’ आउने गरेको चर्चा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयकोतर्फबाट कार्यपत्र प्रस्तुत गर्दै प्रहरी निरिक्षक कार्कीले जिल्लामा १० वर्षमुनिका बालिका र शारीरिक रुपमा अशक्त महिला सबैभन्दा बढी यौनजन्य हिंसामा परेको जानकारी दिए ।
प्रहरी निरिक्षक कार्कीले घटनाको तत्काल उजुरी नगर्ने परिपाटी, सबुद प्रमाण संकलनमा कठिनाई, पीडितहरु होस्टाइल हुने प्रवृत्ति, मानसिक हिंसाका घटनामा प्रमाण जुटाउन कठिनाई लगायतका कारण लैंगिक हिंसा अपराध अनुसन्धानमा चुनौती भइरहेको बताए ।
यस्तै, स्वास्थ्य परिक्षण गर्ने बिशेषज्ञको अनुपलव्धता तथा महिला चिकित्सकको अपर्याप्तता, पीडितप्रति समाजको नकरात्मक दृष्टिकोण, अन्तर निकायस्तरीय समन्वयको अभाव, छाउपडी, छुवाछुत, बोक्सीको आरोप, वालबिवाह लगायतका परम्परागत अपराधहरुमा उजुरी नआउने, सुरक्षा सचेतना र सतर्कताको कमी लैंगिक हिंसा अपराध अनुसन्धानमा चुनौती बनेको प्रहरीले जनाएको छ ।
‘घटनाको तत्काल उजुरी गर्ने परिपार्टीको विकास गर्न जरुरी छ । घटनास्थल तथा सबुद प्रमाण सुरक्षा सतर्कता, नागरिक समाज तथा अभिभावकको अग्रिम सतर्कता, सरोकारवाला संघसंस्थासँग प्रभावकारी समन्वय आवश्यक छ,’ प्रहरी निरिक्षक कार्कीले भने, ‘पीडितप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन, कानुनको प्रभावकारी कार्यान्वयन, पीडितलाई आफ्नो हक अधिकारको जानकारी, सुरक्षा सचेतना अभिवृद्धि गर्न सके लैंगिक हिंसालाई न्युनीकरण गर्न सकिन्छ ।’
प्रमुख अतिथिका रुपमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले पढे लेखेको र शिक्षित भनिएको जान्ने बुझ्ने व्यक्तिबाटै बढी लैंगिक हिंसा भइरहेको चर्चा गरेकी छन् ।
‘जान्ने बुझ्नेबाटै बढी लैंगिक हिंसा भइरहेको पाइएको छ,’ संविधानसभा सदस्य राईले भनिन्, ‘बरु केही जान्दिन, पढेको छुँइन भन्ने व्यक्तिहरुबाट लैंगिक हिंसा कम भएका छन् ।’ पुर्वसांसद कुलप्रसाद फुयाँलले ‘ठूलाले मानव अधिकार उपभोग गरिरहेको तर सानाले जहिल्यै मानव अधिकारबाट बञ्चित हुनुपरिरहेको चर्चा गरेका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरुले खोटाङका तीन महिलाको हत्या भएको लामो समयसम्म दोषी पत्ता नलागेको, प्रहरी हिरासतमा थुनुवा पाथेकाका भुदेउ राईको मृत्यु भएको विषयमा मानव अधिकार आयोगले दोषी प्रहरीलाई कारबाही सिफारिस गरे पनि हालसम्म कारबाही नभएको, बजार मूल्यमा मनपरी भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख गीताकुमारी दाहालले मानव अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । खोटाङमा जिल्ला समन्वय समिति, मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, इन्सेक लगायत १९ कार्यालय तथा संघसंस्थाको आयोजनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिएको हो ।
‘जीवन, मर्यादा, समानता र स्वतन्तत्राको अधिकारः दिगो शान्ति र सम.द्धिको आधार’ भन्ने नारासहित मनाइएको दिवसको अन्तिम दिन आइतबार दिक्तेलमा प्रभातफेरी निकालिएको थियो ।
इन्सेककर्मी फुयाँललाई सम्मान
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा इन्सेककर्मी तारानाथ फुयाँललाई सम्मान गरिएको छ ।
हिंसा पिडित महिलालाई घरबासका लागि पाँच आना जग्गा र १० हजार सहयोग गरेका अधिकारकर्मी फुयाँललाई कार्यक्रमका आयोजक कार्यालय तथा संघसंस्थाले संयुक्त रुपमा सम्मान गरेको हो । फुयाँललाई प्रमुख अतिथि संविधानसभा सदस्य राई र पुर्वसांसद फुयाँलले सम्मान–पत्र प्रदान गरेका थिए ।
समापन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निमित्त मेयर दिनेश घिमिरे, एमाले सचिव कुमार आचार्य, कांग्रेस नेता सुमानबाबु आचार्य, माओवादी केन्द्रका नेता जीवन राई संगीन, नेकपा (एस)का नेता झुलेन्द्र बिक, राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राई, नगरका प्रमुख प्रशासकीय अधिकृत दिनेश राई, कार्यपालिका सदस्य अञ्जना केसी, उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतले लैंगिक हिंसा न्युनीकरणका विषयमा धारणा राखेका थिए ।