नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय खोटाङले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको प्राङ्गणमा शुक्रवार सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्को बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार बिशेष अतिथि रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकहरुले शान्ति सुरक्षाको प्रत्याभूति, दिक्तेलबजारमा जडान गरेर प्रयोगहिन बनेका सिसी क्यामेरा सञ्चालनमा ल्याउनुपर्ने, दिक्तेलबजारमा बनाइएको स्पिड ब्रेकर सुधार गर्नुपर्ने, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण, सेफ हाउस नहुँदा भोग्नु परेको समस्या, यातायातको भाडादर र प्रहरीले विशेष सुरक्षा योजनालाई जोड दिनुपर्ने लगायतका विषयमा प्रहरी तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।