खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ।
छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधिएको प्रनाउ खड्काले बताए ।
प्रनाउ खड्काका अनुसार प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो ।
कारबाहीका लागि स्पष्टीकरण सोधिए नभई नियमानुसार बिदा किन नलिएको भन्दै स्पष्टीकरण सोधिएको प्रनाउ खड्काको भनाई छ ।
‘यो भनेको कुनै विषयमा स्पष्ट हुनको लागि गरिने हो,’ उनले भने, ‘६ महिनासम्म बिदा नलिई काम गरेकाले किन नलिइएको हो ? केही समस्या हो कि, परिवारमा केही समस्या पो भएर हो कि भनेर सोधेका हौँ, कारबाहीका लागि होइन।’
प्रहरी नियमावली अनुसार वर्षमा प्रहरी कर्मचारीले ३० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदा लिन पाइन्छ।