खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा पेलुङका अग्नी पीडित गणेश बस्नेतलाई राहत जुट्न थालेको छ ।
घरमा कोही नभएको समयमा बुधबार अपरान्ह ४ बजे एक्कासी लागेको आगोले पूर्णरुपमा घर जलेर विस्थापित भएका बस्नेतलाई कोशी प्रदेश विपद व्यवस्थापन कोष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा चार लाख दिने निर्णय गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए ।
नगर प्रमुख तीर्थराज भट्टराईले घटनास्थलमै पुगेर उक्त राहत रकम पीडित बस्नेत परिवारलाई चाँडै उपलब्ध गराउने बताएका छन् । अग्नी पीडित बस्नेतलाई वडा कार्यालय निर्मलीडाँडाले पाँच हजार, खोटाङ दैविक प्रकोप कोषले दश हजार, निर्मलीडाँडा घर भइ जापानमा बसोबास गर्दै आएका धिरेन्द्र बस्नेतले पाँच हजार र सामाजसेवी ध्रुबकला राईले पाँच हजार राहत प्रदान गरेको वडाध्यक्ष कठेतले जानकारी दिए ।
अग्नी पीडित बस्नेत परिवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले पनि बन्दोबस्तीका सामानहरु उपलब्ध गराएका छन् । बन्दोबस्तीका सामानहरु लिएर रेडक्रस सभापति ज्ञानेन्द्र जोशी घटनास्थल पुगेका थिए । आगोले पूर्णरुपमा घर जलेपछि अग्नी पीडित पाँचजनाको बस्नेत परिवार कटेरामा बसिरहेका छन् ।
आगलागीमा बस्नेतको घरभित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा जलि नष्ट हुँदा अन्दाजी नौँ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दिउँसोको समयमा आगलागी भएकाले मानवीय र चौपायामा भने क्षति नभएको स्थानीय बासिन्दाले बताएका छन् । आगोलाई प्रहरी र स्थानीयले साँझ साँढे ५ बजेमात्र पूर्णरुपमा नियन्त्रणमा लिएका थिए ।
आगलागीको उच्च जोखिममा रहेको खोटाङमा आगलागीबाट बच्न तथा आगलागीका घटना न्यूनीकरण गर्न प्रहरीले सचेतना अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय जिल्लामा दैनिकजसो आगलागीका घटना हुन थालेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा सचेतना अभियान शुरु गरेको हो ।