खोटाङ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा परीक्षणका लागि बस सेवा शुरू गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सोमबार दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित सञ्चालन गर्नेगरी परीक्षणका लागि गुडाइएको बस रिबन काटेर उद्घाटन गरेका हुन् ।
गाउँका सबैभन्दा जेष्ठ व्यक्ति नन्दलालले औपचारिकरुपमा बस उद्घाटन गरेपछि उनिसँगै सोही गाउँका ८६ वर्षीय गंगाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राई लगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचेका थिए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेबासीले अबिर र खादाले स्वागतसमेत गरेका छन् ।
चालक र सहचालकलाई स्वागत गरेपछि आहालेमा आयोजित कार्यक्रममा खाल्लेका स्थानीय बासिन्दाको उल्लास मच्चिएको थियो ।
आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरु सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका छन् ।
दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात प्रा.लि.का दुईवटा बस गुडाइएको हो ।
खाल्लेस्थित आहालेबाट दिखुवाफेदीसम्मको सडक स्तरोन्नति गरेपछि पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित बस सञ्चालन गर्ने तयारीस्वरुप परीक्षण गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिए।
“दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ”, उनले, “दिक्तेल–महुरे–रेग्मीटार सडक घुमाउरो छ ।“दिक्तेल–खानीडाँडा–पुरानोगाउँ हुँदै रेग्मीटार साढे ३१ किलोमिटर मात्र छ ।
यो सडकलाई तत्कालका लागि राजापानीस्थित पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित यातायात सञ्चालन गर्ने योजना बनाएका छौँ ।”
तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नतिका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ लाख बजेट उपलब्ध गराएको थियो ।
उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम गरिएको उक्त सडकमा उपभोक्ता समितिले छ लाख ७९ हजार ७२१ को श्रमदान गरेका छन् ।
सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्ड अन्तरगत रेग्मीटारबाट घर्तीभीरसम्म सिधा ट्रयाक खोलिएको सडकलाई यसै वर्षभित्र घर्तीभीर वारपार गराउने योजना बनाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले बताए ।
“घर्तीभीरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न सकिएको छैन । यो चट्टान फुटाउन मेरो व्यक्तिगततर्फबाट पनि सहयोग रहन्छ । मसँग स्काभेटर छ ।
नगरपालिकाले इन्धन उपलब्ध गराएमा मसँग भएको स्काभेर निःशुल्क उपलब्ध गराउछु”, उनले भने, “दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक हामी खाल्लेवासीको लागिमात्र नभइ जिल्लाको प्रमुख मार्ग हो । यो सञ्चालनमा ल्याउन सकिएमा तराईका विभिन्न जिल्ला एकै दिनमा पुगेर पुनः बेलुका घर फर्कन सकिन्छ ।”
दिखुवाखोला पारीबाट थ्रिस्टार हाईड्रोपावर कम्पनीले निःशुल्करुपमा राजापानीको पुरानोगाउँसम्म सडक निर्माण गरिदिएको छ ।
उक्त सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवयर, इन्धन लगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रति केजी दुईदेखि पाँच रुपैयाँ सम्म घट्ने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष मनोज बजिमयले बताए ।
दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट ८० लाख बजेट आएको उपप्रमुख विसन राईले जानकारी दिए ।
“घर्तीभीरको चट्टान तोडेर दुवैतर्फको ट्रयाक जोड्ने पहल भइरहेको छ । यो सडक नगरपालिकाको गौरवको आयोजना हो”, उपप्रमुख राईले भने “अहिले दिक्तेलबाट महुरे, बुइपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ ।
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक जोड्न सक्यौँ भने दिक्तेलबाट सिधै डेढ घण्टामा रेग्मीटार पुग्न सकिन्छ । यसलाई मध्यनजर गरेर निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ ।”
कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ ।
सञ्चालनमा ल्याइएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।