खोटाङ । खोटाङमा विद्युत सट भई घर तथा तीन वटा गोठ जल्दा ११ लाख बराबरको क्षति भएको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका डिल्ली कुमार खत्रीको घर तथा गोठ र तेजबहादुर खत्रीको दुई वटा गोठ जलेर नष्ट हुँदा १० लाख ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सोमवार साढे ४ बजेतिर भएको आगोलागीबाट डिल्लीकुमारको घर तथा गोठसहित ५ वटा खसी, ५ वटा बाख्रा , २० किवी काठ, ६ बण्डल जस्तापाता, १६ एमएमको ४० मिटर पाइप, परालको कुन्यु जल्दा ६ लाख ५४ हजार बराबरको क्षति भएको स्थानीय युवा नेता नइन्द्रकुमार राईले जानकारी दिए ।
यस्तै, तेजबहादुरको दुई वटा गोठसहित ६ वटा खसी , ६ वटा बाख्रा र परालको कुन्यु जल्दा ४ लाख ३५ हजार, बराबरको क्षति भएको जनाइएको छ । घर तथा पशुचौपायाहरु जलेर क्षति भएपनि मानवीय क्षति भने नभएको स्थानीय राईले बताए । स्थानियवासीले तत्काल आगो नियन्त्रणमा लिएका कारण अरु घरहरु क्षति हुनबाट बचेको जनाएको छ ।