खोटाङ । देशभक्तिको भावले भरिपूर्ण नेपाली फिल्म ’काँडेतार’ यही फागुन २५ गतेबाट देशभरका फिल्महलहरुमा एकैसाथ प्रदर्शन हुने भएको छ । नवल खड्काको निर्माण तथा निर्देशनमा बनेको ‘काँडेतार’ चलचित्रमा अहिलेसम्म नेपालको इतिहासमा बनेका जतिपनि राष्ट्रबादी फिल्महरु छन् ति मध्येकै जिउँदो कथावस्तुमा निर्माण भएको उत्कृष्ट मानिएको फिल्म हो ’काँडेतार’ । यसमा देशभक्ति झल्कने विषयवस्तु समेटिएको छ ।
फिल्म ‘काँडेतार’ को मूल मर्म नै नेपाल–भारतबीचको सीमानामा काँडेतार लगाउनुपर्ने रहेको छ । जबसम्म दुई देशविचको सीमानामा काँडेतार बार लगाइन्न तवसम्म नेपाल र नेपाली जनता कहिल्यै सुरक्षित रहन्न भन्ने मार्मिक कथा र व्यथा छर्लड्गै झल्किन्छ । सीमानामा नेपाली जनताले भोग्नु परेको समस्या र समाधान, सीमा रक्षाका लागि देशका नागरिकले गरेको बलिदान, निर्वाह गर्नुपर्ने दायित्वलाई पर्दामा उतारिएको छ ।
काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । आफू देशको सच्चा नागरिक भएकाले पनि राष्ट्र र राष्ट्रियता जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको खड्काले बताए ।
सामना फिल्मस् प्रालिको ब्यानरमा चार करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो चलचित्रमा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, नादिया खड्का, सनया खड्का लगायतका कलाकारको अभिनय छ ।
मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारको छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।
यस अगाडि राष्ट्रियताको विषयमा सफल ‘दशगजा’, ‘भीमदत्त’ जस्ता फिल्म दिएका नवलले यस फिल्मको विषय पनि राष्ट्रियताकै सेरोफेरो राखेका छन् । खड्काले काँडेतारको देशका विभिन्न ठाउँमा पुगेर च्यारेटी शो गरिसकेका छन् ।