खोटाङ । दुवै मृगौला विग्रिएर जीवनमरणको दोसाँधमा रहेकी खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी डम्बरकुमारी पुरीले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन्। दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी ३२ वर्षीय डम्बरकुमारीले मिर्गौला प्रत्यारोपण गर्न पैसा अभाव भएकाले आवश्यक रकम जुटाइदिन आग्रह गरेकी हुन्। तीन वर्षअघि दुवै मिर्गौला बिग्रिएपछि सातामा तीन पटक डाइलाइसिस गरीरहनु परेको मिर्गौला पीडित पुरीले बताईन् ।
शुरुमा वाकवाकी लाग्ने, टाउको दुख्ने र पिशाव फेर्न गाह्रो भएपछि २०७७ भदौ १३ गते उपचारका लागि जिल्ला अस्पताल पुगेकी पुरीलाई अस्पतालले मिर्गौलामा समस्या छ भनेर रेफर गरेपछि त्यसको भोलिपल्टै नोबेल अस्पताल विराटनगर गएको बताईन् । नोबेल अस्पताल भर्ना भएको १३ दिनपछि दुवै मिर्गौला फेल भएको पुष्टि भएपछि २०७७ भदौ २७ गते अस्पतालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रेफर गरेपछि भक्तपुर पुगेकी पुरीको सोही दिनबाट नै डायलसिस शुरु भएको तर त्यसको केही दिनपछि कोरोना पोजेटिभ देखिएपछि असोज २ गते अस्पतालले वेडको आभाव देखाउदै रेफर पुरीले बताईन् ।
त्यसपछि असोज ४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा इमेरजन्सी कक्षमा भर्ना भएर उपचारार्थ पुरीलाई १४ दिनपछि त्रिवि शिक्षण अस्पतालले पनि रेफर गरेपछि नेपाल–भारत अस्पताल हुँदै २०७८ देखि निरन्तर करूणा अस्पताल चुनादेवी काठमाडौंमा उपचारार्थ छिन्। डम्बरकुमारीको उपचार गराउँदा अहिलेसम्म ३५ लाख बढि सकिएको श्रीमान डम्बर गिरीले बताए।
अहिले डम्बरकुमारीको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको श्रीमान् गिरीको भनाई छ। आर्थिक अवस्था न्यून भएकी पुरी अहिले आर्थिक अभावका कारण डायलसिस र औषिउपचारमा समस्या भएपछि चिन्तित छिन्। विरामी डम्बर कुमारीले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउन सक्ने बताउँदै सहयोगको अपिल गरेकी हुन्।
मिर्गौला पीडित पुरीलाई सहयोग गर्नका लागि उनकै नाममा राष्ट्रिय वाणिज्य बैंक ऐंसेलुखर्क शाखामा खोलिएको खाता नम्बर २३३०१०००००६३४०१० मा रकम जग्गा गर्ने व्यवस्था मिलाइएको छ। सहयोग गर्नका लागि मोबाईल नम्बर ९८४२७३९४२५ वा ९८४२८१४१११ मा फोन गर्न सकिने जनाइएको छ।