खोटाङ । नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाको ३७ औँ जिल्ला वार्षिक साधारण सभा सम्पन्न भएको छ । गाउँ गाउँसम्म पुगेर मानवीय सेवाका गतिविधिहरु सञ्चालन गर्दै आएको शाखाले बुधवार खोटाङ उद्योग वाणिज्य संघको सभा हलमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सधारण सभामा वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम जिल्ला शाखा मन्त्री छत्रकुमार बजिमयले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लिलाबहादुर खत्रीले प्रस्तुत गरेका थिए ।
वार्षिक सभाको अवसरमा बोल्ने वक्ताहरुले भेदभावविना सहयोग पु¥याउने उद्देश्य लिएर स्थापना भएको यस संस्थाले मानवीय सेवामा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएकोले यसलाई समुदायसम्म पहुँच पु¥याउनुपर्ने कुरामा जोड दिएका थिए ।
रेडक्रस एवं रक्तसञ्चार सेवाको सम्बन्ध नङ र मासुको सम्बन्ध रहनुका साथै बिरामीहरुलाई निःशुल्क रुपमा मानव रगत उपलव्ध गराउनु, विपद्को समयमा सेवा पु¥याउनु, पवित्र सेवा भावले सेवा प्रदान गर्नु नै रेडक्रसको मूल धर्म रहेको बताएका थिए ।

२०२८ सालमा स्थापना भएको खोटाङ जिल्ला शाखा अन्र्तगत यशस्कर सदस्य ९ जना, विशिष्ट सदस्य ७ जना, आजीवन सदस्य संख्या १ हजार ९ सय १६, जुनियर युवा रेडक्रस सदस्य संख्या २ हजार ७ सय ५६ जना रहेका छन् । यस्तै, उपशाखा २४ वटा, उपसमिति ७ वटा, जुनियर युवा रेडक्रस सर्कल संख्या १२ वटा रहेको मन्त्री बजिमयले जानकारी दिए ।
शाखाका सभापति ज्ञानेन्द्र जोशीको सभापतित्व तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रहरी नायव उपरिक्षक कृष्ण बम, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक टीकाराज बराल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश सदस्य कुमारसिं बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
