• ट्रेण्डिङ:

वन डढेलो नियन्त्रण र रोकथाम सम्वन्धि छलफल

वन डढेलो नियन्त्रण र रोकथाम सम्वन्धि छलफल

रोदिक खबर

२, चैत्र २०८०
  • 6.4K
    SHARES
  • वन डढेलो नियन्त्रण र रोकथाम सम्वन्धि छलफल

    सुख्खा तथा हावाहुरी चल्ने मौषममा गाउँ शहर बस्तीमा आगलागिको तथा वनजंगलमा डढेलोको जोखिम रहेकाले डिभिजन वन कार्यालय खोटाङले सरोकारवालाहरुको समन्वय बैठक गरी वन डढेलो नियन्त्रण र रोकथाम सम्वन्धि छलफल गरेको छ ।

    बैठकमा सहभागिहरुले वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि सरोकारवालाहरुको साझा प्रयासबाट मात्र संभव रहेकोले समस्या कम गर्न सवै लाग्नुपर्नेमा बताएका थिए ।

    डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु, सामुदायिक वन उपभोक्ता समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार लगायतका सरोकारवाला निकायसँग सहकार्य गरी वन डढेलो रोकथामका लागि अघि बढ्ने निर्णय गरिएको छ ।

    जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक र सुरक्षा अपनाउन आग्रह गर्ने निर्णय गरेको छ ।

    जिल्लामा प्राकृतिक रूपमा भन्दा पनि मानवीय कारण जस्तै– खोरिया फडानी, बटुवा तथा गाडीका यात्रुबाट चुरोट र बिँडीका ठुटा लापरबाहीले फाल्दा, जंगलनजिक रहेको खेतबारी सफा गर्दा, नयाँ मुना वा घाँस पलाउने आशामा, वनभोज, पदयात्रा, मनोरञ्जनका क्रियाकलाप असावधानीका साथ सञ्चालन गर्दा तथा सहभागी हुँदा, वनमा सिकार तथा वन्यजन्तुको अवैध तस्करी गर्दा, वनसम्बन्धी कार्य तथा वनभित्र विभिन्न विकास निर्माणका कार्यमा कामदारको लापरबाहीले र कहिलेकाहीं रिसइबी, बदला तथा प्रतिशोधको भावनाले समेत वनमा आगो लगाउने कार्य भएको पाइन्छ ।

    यसैबीच आगलागीका कारण निम्तिने विपद्लाई न्यूनीकरण गर्न जिल्लाकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट जडान गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, गोरखानाथ गणका गणपति ध्रुव कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बम, डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहाल, राष्ट्रिय अनुसन्धान अधिकृत नृत्यानन्द ढुङ्गाना, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सामुदायिक वन उपभोक्ता महासंघका मोहन गुरुङ, नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमय लगायतको उपस्थिति रहेको थियो ।

    ban1.jpeg

    प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - २३:०५:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको