• ट्रेण्डिङ:

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

रोदिक खबर

६, चैत्र २०८०
  • 10.9K
    SHARES
  • कथाकार परशु प्रधानको  निधन

    खोटाङ । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

    आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिएका छन् । वि.सं. २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा र उपन्यास विधामा कलम चलाउने गरेका थिए ।

    पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना वि.सं. २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो । सुरुमा उनले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाएका थिए ।

    उनका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । उनका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह प्रकाशित छन् ।

    प्रधानले बाल साहित्यमा पनि कलम चलाएका थिए । उनका नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित छन् ।

    प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ०९:१६:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको