खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा अपाङ्गताका लागि विनियोजन गरिएको बजेटबाट वडाभित्र रहेका ८५ वर्षभन्दा माथिका १९ जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सोमवार सम्मान स्वरूप जेष्ठ नागरिकको स्वास्थ्यको साहरा भनेको लठ्ठी भएकाले घँगरूको लाठ्ठी र सम्मानपत्रले सम्मान गरेकोे हो ।

पछिल्लो समय धेरै जसो घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उहाँहरूलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको वडा अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिए ।
यस्तै, सोही अवशरमा वडाले दलित विद्यार्थीलाई झोला वितरण गरेको छ । वडा कार्यालयले वडाभित्रका ४० जना दलित विद्यार्थीलाई झोला वितरण गरेका हो । वडाध्यक्ष राईका अनुसार उनीहरुको पढाइ लेखाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले दलित विद्यार्थीलाई झोला वितरण गरिएको हो । वडाभित्र रहेका ६ वटा विद्यालयमा अध्ययनरत ६९ जना विद्यार्थीमध्ये कक्षा १ देखि ९ सम्मका ४० जना दलित विद्यार्थीलाई एक कार्यक्रमका बीच झोला वितरण गरिएको हो ।

यस्तै, वडा कार्यालयले अर्काको साहारामा बाँचिरहेका अपाङ्गता भएका व्यक्तिको राम्रो स्याहारसुसार गर्ने तीन जना संरक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ । सम्मान तथा पुरस्कृत हुनेहरुमा बइन्द्र राई, लिला खत्री र ध्यानबहादुर राई रहेका छन् । उनीहरुलाई दोसल्ला ओढाएर दुई हजार पाँच सय नगदसहित सम्मानपत्रले सम्मान गरिएको वडाले जनाएको छ ।
यस्तै, वडाले दुईजना ब्याडमिन्टन खेलाडीलाई पनि सम्मान गरेको छ । ब्याडमिन्टन खेलका माध्यमबाट वडाको शाख उच्च राख्न सफल स्थानीय पर्शुराम थापा (आशिष) र संजय कार्कीलाई उनीहरुको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।
यस्तै, वडाले टोल विकास संस्थाका ९ जना अध्यक्षहरुलाई पनि सम्मान गरेको छ । वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्षको अवधिमा टोल विकास संस्थामा रहेर वडामा हुने हरेक गतिविधिमा सहजीकरण गरी वडालाई सहयोग पु¥याएकोमा उनीहरुलाई सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।
सम्मानित हुने व्यक्तिहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष राई लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराई, उपप्रमुख राई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सहरमान राई, नेकपा एमाले खोटाङका सदस्य निरबहादुर राई, नेपाल पत्रकार मासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्यद्वय रामकुमार हिङमाङ र मिना कार्की लगायतको उपस्थिति रहेको वडासचिव मन्दिरा घिमिरेले जानकारी दिइन् ।