खोटाङ । खोटाङमा पास्नीको भोज खाएर घर फर्कने क्रममा भीरबाट लडेर एकको मृत्यु भएको छ । बाराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित आफन्तको घरमा पास्नी भोज खाएर फर्कने क्रममा बाराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भीरबाट लडेर मृत्यु भएको हो ।
बुधबार साँझ फाक्टाङ र पौवासेराको सिमानामा पर्ने बेतुवा खोलाको भीरबाट लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको नेतृत्वमा खटिएको प्रहरीले बिहिबार बिहान कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमार्टमका लागि उदयपुरको स्वास्थ्यचौकी बेलटार पठाएको छ ।
घटनाको बारेमा जानकारी आए लगत्तै प्रहरीचौकी हुक्नाजोरबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरीको टोली बुधबार साँझ घट्नास्थल पुगेका थिए ।