खोटाङ । खोटाङमा पोलियो रोगविरुद्धको आई.पि.भि. खोप जेठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने भएको छ । वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई आई.पि.भि. खोप उपलब्ध गराउने नेपाल सरकारको निर्धारित कार्यक्रम अन्तरगत खोटाङमा यही जेठ–१३, १४ र १५ गते पोलियो रोगविरुद्धको आई.पि.भि. खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला खोप समन्वय समिति खोटाङले जनाएको छ ।
अभियानका क्रममा जिल्लाका सात हजार ७१३ जना बालबालिकालाई आई.पि.भि. खोप उपलब्ध गराउने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले जानकारी दिए ।
२०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन । सरकारले ती अवधिमा छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो । अभियानका लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ”, उनले भने, “अभियानका लागि जिल्लामा २५७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
हरेक खोप केन्द्रमा एक/एकजना स्वास्थ्यकर्मी तथा दुई/दुईजना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।” अभियानमा यसअघि खोप लगाएकाले पुनः लगाउन नपर्ने तथा पोलियो थोपा खुवाइरहेका बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भि. खोप अनितवार्य लगाउनुपर्ने जनाइएको छ ।
दश स्थानीयको ७९ वडा रहेको जिल्लाका प्रत्येक वडामा तीन÷तीन दिन खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । अभियानका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार ११२ तथा हलेसी तुवाचुङ नगरपालिकाका एक हजार २४८ जना बालबालिकालाई आई.पि.भि. खोप लगाउने तयारी गरिएको छ ।
यस्तै, केपिलासगढी गाउँपालिकाका ५८९, ऐसेलुखर्कका ५५७, रावाबेँसीका ४४३, साकेलाका ४४९, दिप्रुङ चुइचुम्माका ६९५, खोटेहाङका ६८८, जन्तेढुङ्गाका ५०९ र बराहपोखरी गाउँपालिकाका ४२३ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
अभियान अन्तरगत स्वास्थ्य कार्यालयले मङ्गलबार खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीसँग पोलियो रोगविरुद्धको आई.पि.भि. खोप कार्यक्रमसम्बन्धी अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तरगत पोलियो रोगविरुद्धको आई.पि.भि. खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अभियानका लागि आवश्यक पर्ने खोप प्रदेश स्वास्थ्य मन्त्रालयबाट ल्याएर सम्बन्धित खोप केन्द्रका प्रमुखहरुलाई जिम्मा लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालन गरिने खोप अभियानमा अवाञ्छित घटना हुन नदिन तथा भएको खण्डमा तत्काल उपचार सेवा प्रदान गर्न जिल्ला अस्पताल खोटाङका डाक्टरहरुको मोबाइल नम्बर हरेक स्थानीय तहलाई उपलब्ध गराइएको जनाइएको छ ।
नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ । वि।सं। २०७३ वैशाखदेखि २०७५ असोजसम्मको अवधिमा देशभरगरी छुटेका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आई.पि.भि. खोप उपलब्ध गराउने तयारी गरिएको छ ।
पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्ष घात हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।