खोटाङ । १७ औं गणतन्त्र दिवसका अवसरमा खोटाङमा वृक्षारोपण गरिएको छ । गणतन्त्र दिवस मुल समारोह समिति खोटाङको आयोजना तथा डिभिजन वन कार्यालय खोटाङको व्यवस्थापनमा रणभीम गण मुढे व्यारेक परिषरमा बुधवार वृक्षारोपण गरिएको हो ।
व्यारेक परिषरमा डिभिजन वन कार्यालय खोटाङले उपलब्ध गराएको रुद्राक्ष, चाँप, धुपी, लाकुरी, अम्बा, कपुर, जाईफूल लगायत विभिन्न ११ जातका एक सय दश वटा विरुवा रोपिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले जानकारी दिए ।
बृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्य, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुखहरु, नेपाल पत्रकार महासंंघ खोटाङका अध्यक्ष दिलीप खत्री, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।

वृक्षारोपणपछि तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको समापन कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बिरुवाले जमिनमा जरा जति बलियो गरी गाड्छ र हाँगा फराकिलो रूपले फैलिन्छ गणतन्त्र पनि उत्तिकै बलियो हुने सन्देशका साथ गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएकोले रोपिएको विरुवा गणले महत्वका साथ अपनत्व लिई संरक्षण गर्न आग्रह गरे ।
सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई ज्येष्ठ १४, १५ र १६ गते तीन दिनसम्म मनाउने निर्णय गरेअनुसार खोटाङमा रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम तथा दिपावली गर्दै गणतन्त्र दिवस मनाइएको थियो ।

