• ट्रेण्डिङ:

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा खोटाङमा अन्तरक्रिया कार्यक्रम

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा खोटाङमा अन्तरक्रिया कार्यक्रम

रोदिक खबर

२१, जेठ २०८१
  • 2.1K
    SHARES
  • जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा  खोटाङमा अन्तरक्रिया कार्यक्रम

     खोटाङ । १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा खोटाङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा जिल्ला प्रहरी कार्यालयको सभा हलमा सोमवार अन्तरक्रिया कार्यक्रम गरिएको हो । २१ जेठ २०६३ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गर्दै कार्यक्रमका सहभागीहरुले समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य हुन नसकेको, अझै पनि विभेद सहनु परेको, अन्तरजातीय विवाहपछि सामाजिक बहिस्करण खेप्नु परेको, अन्तरजातीय प्रेम सम्वन्धका कारण जन्मिएका बालबालिकाको नागरिकता पाउनबाट बन्चित रहेको, सार्वजनिकस्थल, मन्दिर लगायतका ठाउँहमा समेत विभेद खेप्नु परेको गुनासो गरेका थिए ।

    नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प राखेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, राष्ट्रिय मानव अधिकार आयोगकी उपसचिव गीताकुमारी दाहाल, सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णबहादुर बम, राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका प्रमुख नृत्यानन्द ढुङ्गाना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा खोटाङका सचिव दीपक ठटाल लगायतका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

    प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - २२:५०:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको