खोटाङ । खोटाङमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साताव्यापी रुपमा मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा बुधवार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायबिच भएको छलफलले लागू औषध प्रयोग र ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै मनाउने निर्णय गरेको हो ।
सप्ताहव्यापी कार्यक्रम अनुसार असार ६ गते बिहान ‘लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार विक्री वितरण तथा सेवन गर्नु अपराध हो, यस्ता गैरकानूनी गतिविधिमा आफू पनि नलागौं अरुलाई पनि लाग्न नदिऔ’, ‘लागू पदार्थको सेवनः गयो अमूल्य जीवन’ ‘हामी सबैको आवाजः लागूऔषध मुक्त समाज’, ‘हाम्रो चाहानाः लागूऔषध रहित, स्वस्थ्य र सुखी जीवनको कामना’, ‘लागूऔषध त्यागौँः स्वस्थ्य र सुखी जीवनतर्फ लागौँ’, ‘लागूऔषध लिने बानीः स्वास्थ्य र धनजनको हानी’, ‘लागू पदार्थ सेवन नगरौँ, सभ्य समाजको निर्माण गरौँ’, आफू बाँचौँः अरूलाई पनि बचाऔ’ भन्ने जनचेतनामूलक नाराहरू सहित जिल्ला प्रहरी कार्यालयदेखि रत्नपार्कसम्म प्रभातफेरी गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हिराधन राईले जानकारी दिए ।
यस्तै, असार ७ गते सरस्वती मावि दिक्तेलमा विद्यालय सचेतना कार्यक्रम सञ्चालन, असार ८ गते स्थानीय सञ्चारमाध्यममा सचेतनामूलक कार्यक्रम प्रसारण तथा प्रकाशन गर्ने, असार ११ गते कारागारका कैदीहरुसँग लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायत विभिन्न कार्यक्रम गर्दै १२ गते समापन गरिने निर्णय भएको छ ।
प्रशासनले दिवसलाई सचेतनामूलक र सन्देशमूलक कार्यक्रमका रुपमा सम्पन्न गर्न सरोकारवाला सम्पूर्ण निकाय, संघसंस्थालाई आग्रह समेत गरेको छ ।