• ट्रेण्डिङ:

लागू औषध विरुद्धको साताव्यापी कार्यक्रम शुरु

लागू औषध विरुद्धको साताव्यापी कार्यक्रम शुरु

रोदिक खबर

६, आषाढ २०८१
  • 3.5K
    SHARES
  • लागू औषध विरुद्धको साताव्यापी कार्यक्रम शुरु

    खोटाङ । ट्राफिक सप्ताह, लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर खोटाङमा साताव्यापी कार्यक्रम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको संयुक्त आयोजनामा सञ्चालन हुने कार्यक्रम असार–६ गतेदेखि १२ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै मनाउने निर्णय गरिएको छ ।

    कार्यक्रमको पहिलो दिन असार–६ गते ‘लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार विक्री वितरण तथा सेवन गर्नु अपराध हो, यस्ता गैरकानूनी गतिविधिमा आफू पनि नलागौं अरुलाई पनि लाग्न नदिऔ’, ‘लागू पदार्थको सेवनः गयो अमूल्य जीवन’ ‘हामी सबैको आवाजः लागूऔषध मुक्त समाज’, ‘हाम्रो चाहानाः लागूऔषधरहित, स्वस्थ्य र सुखी जीवनको कामना’, ‘लागूऔषध त्यागौँः स्वस्थ्य र सुखी जीवनतर्फ लागौँ’, ‘लागूऔषध लिने बानीः स्वास्थ्य र धनजनको हानी’, ‘लागू पदार्थ सेवन नगरौँ, सभ्य समाजको निर्माण गरौँ’, आफू बाँचौँः अरूलाई पनि बचाऔ’ भन्ने जनचेतनामूलक नाराहरूको प्लेकार्डसहित प्रभातफेरी गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय हाटडाँडादेखि रत्नपार्कसम्म सञ्चालन गरिएको प्रभादफेरीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडाध्यक्ष नवराज राई, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।

    यस्तै, दोश्रो दिन शुक्रबार (असार–७ गते) सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा विद्यालय सचेतना कार्यक्रम सञ्चालन, असार–८ गते स्थानीय सञ्चारमाध्यममा सचेतनामूलक कार्यक्रम प्रसारण तथा प्रकाशन गर्ने, असार–११ गते कारागारका कैदीहरुसँग लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायत विभिन्न कार्यक्रम गर्दै १२ गते समापन गरिने निर्णय भएको छ ।

    प्रशासनले दिवसलाई सचेतनामूलक र सन्देशमूलक कार्यक्रमका रुपमा सम्पन्न गर्न जिल्लास्थित दशवटै स्थानीय तह, सरोकारवाला निकाय, संघसंस्था लगायतलाई आग्रहसमेत गरेको छ । पछिल्लो समय जिल्लाका युवापुस्तामा लागू औषध प्रयोगकर्ता बढेको पाइएपछि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले नियमित अभियान सञ्चालन गरिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालयले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित शैक्षिक संस्था तथा हाटबजारमा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको हो ।

    यस्तै, ट्राफिक नियमबारे जनचेतना फैलाउन बिहीबारदेखि ट्राफिक सप्ताह–२०८१ सुरु भएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरीले एक हप्ते कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत आज पहिलो दिन दिक्तेलमा प्लेकार्ड, ब्यानर सहित प्रभातफेरी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्याल खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - २१:५८:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको