• ट्रेण्डिङ:

विद्यार्थीलाई हेल्मेट लगाई दिएर ट्राफिक सप्ताह सुरू

विद्यार्थीलाई हेल्मेट लगाई दिएर ट्राफिक सप्ताह सुरू

रोदिक खबर

६, आषाढ २०८१
  • 2.5K
    SHARES
  • विद्यार्थीलाई हेल्मेट लगाई दिएर ट्राफिक सप्ताह सुरू

    खोटाङ ।ट्राफिक नियमबारे जनचेतना फैलाउन खोटाङमा ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि दिक्तेलको रत्नपार्कमा बिहीवार भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले विद्यार्थीलाई हेल्मेट लगाई दिएर ‘ट्राफिक सप्ताह’ अभियान शुरु गरेका हुन् ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ‘ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी आयोजनामा खोटाङमा ‘ट्राफिक सप्ताह’ शुरु गरिएको हो । 

    यस्तै, ‘ट्राफिक सप्ताह’ अन्तर्गत यातायात व्यवसायी तथा यातायात मजदुरहरूसँग दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया, सवारी साधनको मेकानिकल चेकजाँच, सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, आरक्षण सिट कार्यान्वयन गरे नगरेको तथा तोकिए अनुसारको भाडादर कार्यान्वयन भए नभएको अनुगमन, पर्चा पम्पलेट वितरण र सवारीसाधनहरुमा सचेतनामुलक स्टिकर टाँसिने जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

    यस्तै, दिक्तेलबजार तथा जिल्लाका विभिन्न स्थानमा तीव्र गति तथा पार्किङ निषेधको अवस्था चेकजाँच गर्ने, मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालनाको चेकजाँच, स्कूल वस तथा अटो चालकलाई प्रशिक्षण,  मालवहाक गाडीमा क्षमताभन्दा बढि मालसामान ओसारपसार गरे नगरेको अनुगमन तथा कार्वाही गर्ने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

    यस्तै, सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच, नियन्त्रण एवम् प्रशिक्षण कार्यक्रम, चालक, सहचालकको स्वास्थ्य र सवारीको यान्त्रिक चेकजाँच र यात्रुलाई प्रशिक्षण लगायतका कार्यक्रम गर्दै ट्राफिक सप्ताह’ मनाइने प्रहरी सहायक निरीक्षक कार्कीले जानकारी दिए । 

    जिल्ला प्रहरी कार्यालय हाटडाँडादेखि रत्नपार्कसम्म सञ्चालन गरिएको प्रभातफेरीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडाध्यक्ष नवराज राई, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।

     

    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - २२:२१:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको