• ट्रेण्डिङ:

याम्खामा पाँच शैयाको अस्पताल सञ्चालन गरिने

याम्खामा पाँच शैयाको अस्पताल सञ्चालन गरिने

रोदिक खबर

३१, भाद्र २०७७
  • 3.1K
    SHARES
  • याम्खामा पाँच शैयाको अस्पताल सञ्चालन गरिने

    खोटाङ । कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।

    कोरोना भाइरसको संक्रमण दर फैलिरहेको अवस्थामा भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्य चौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो ।

    yamkha-helth-post.jpg

    बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी दशैंसम्ममा स्वास्थ्य चौकीको नयाँ भवनमा कोभिड–१९ सम्वन्धी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

    अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि बिनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो ।

    अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि गाउँपालिकाले एक जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी नियुक्त गर्ने तयारी गरेको छ ।

    दशैं र तिहार जस्ता चाडवाड नजिकिदै गरेको तथा असोज १ गतेदेखि सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलने खतरा बढेकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

    गाउँपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पतालको अवधारणा अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

    ‘काठमाण्डौंमा अत्यन्तै बढि संक्रमित भेटिइरहेको अवस्था छ । यही अवस्थामा संघीय सरकारले लामो दुरीका सवारी साधन खोल्ने निर्णय ग¥यो । काठमाण्डौं, भारत र तेश्रो मुलुकबाट आउने मान्छेलाई एउटै नजरले हेर्नुपर्ने हुन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसकारण संक्रमित क्षेत्रबाट आएका नागरिकलाई पिसिआर परीक्षण गर्दा संक्रमण देखियो भने उहाँहरुलाई बाहिर पठाउनुभन्दा आफ्नै ठाउँको आइसोलेसनमा राख्ने व्यवस्थाका लागि अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको हो ।’ 
    कोभिड अस्पतालमा आवश्यक जनशक्ति नियुक्तिका लागि बिहीबार नै विज्ञापन आव्हान गरिने गाउँपालिकाले जनाएको छ । 

     

    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - २१:४१:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको