सुनकोशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको स्थलगत अध्ययनका लागि धाप्लाङघाट पुगेका प्रदेश सभा सदस्य भुपेन्द्र राई र पुल सेक्टर कार्यालय धरानका ईन्जिनियरको टोलीबीच स्थालगत अध्ययनपछि कुराकानी हुँदै । तस्विर तुलसी कोइराला
खोटाङ । सुनकोशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिल्लर बाङ्गिएपछि प्राविधिकको टोलीसहित प्रदेश सभा सदस्य भुपेन्द्र राई स्थलगत अध्ययनका लागि आइतवार धाप्लाङघाट पुगेका छन् । निर्माणाधिन पुलको खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि स्थलगत अध्ययन गर्न पुल सेक्टर कार्यालय धरानका ईन्जिनियरको टोलीसहित खोटाङ प्रदेश ‘ख’ का प्रदेश सभा सदस्य राई धाप्लाङघाट पुगेका हुन् ।
गत हप्ताको बाढीले खोटाङको वराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित पुलको पिल्लर नदीतर्फ ढल्किएको थियो । पुलको पिल्लर ढल्किएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रदेश सभा सदस्य राई सहित पुल सेक्टर कार्यालय धरानको ईन्जिनियरको टोली स्थलगत अध्ययनमा पुगेको हो ।

स्थलगत अध्ययनका लागि धाप्लाङघाट पुगेको प्राविधिकको टोलीले पुलको पिल्लर नदितर्फ ढल्केकोले भत्काउनुपर्ने ठहर गरेको छ । अहिलेको संरचनाले काम नगर्ने र भत्काएर नयाँ बनाउने विकल्प नरहेको पुल सेक्टर धरानका ईन्जिनियर आविस्कार तिम्सिनाले बताए । पुरानो डिजाईनमा भएको त्रुटिको कारण पुलको पिल्लर ढल्केको हो, ईन्जिनियर तिम्सिनाले भने–माटो परिक्षण गर्दाको त्रुटिको कारण पिल्लरको बेसमा ढुङ्गा नभएको कारण पिल्लर बाङ्गिएको हुन सक्छ ।
निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँका ठेकेदारको गैरजिम्मेवारीका कारण पाँच वर्ष पहिले नै अर्थात् २०७६ साल असार मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने सो पुल हालसम्म पनि बन्न सकेको छैन । सो निर्माण कम्पनीले २२ करोड २५ लाख रुपियाँमा सम्झौता भएको मितिदेखि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानसँग २०७३ साल असार ३० गते सम्झौता गरेको हो ।
दुवैपट्टि फुटपाथसहित १० मिटर चौडाइ र ४० मिटर लम्बाइका पाँच वटा स्पानसहित दुई सय मिटर लम्बाइ रहेको र जगको किसिम ओपेन वेल फाउन्डेसन भएको पुलको हालसम्म वारि र पारि दुई किनारमा एक÷एक वटा पिल्लर बनाउनेभन्दा अरू कुनै काम हुन सकेको छैन । वर्षा सुरु नहुँदै नदीको बहावले कटान गरेपछि खम्बा बाङ्गिँदै गएको स्थानीयवासीले बताए ।
२०७६ सालमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको पुलको काम नभएपछि सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेपछि पुनः २०८० साल फागुन २८ गतेदेखि डिजाइन परिवर्तन गरेर ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको नदीको बहावले कटान गरेपछि पहिले निर्माण गरिएको पिल्लर बाङ्गिएको वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले बताए ।
स्थानीय धाप्लाङघाटका मानवहादुर माझी भन्छन्, “पिल्लरको माथिल्लो भागको माटो नदी कटानमा परेपछि नदीतिर ढल्किँदै गएको छ । कति बेला ढल्ने हो भन्ने अवस्थामा पुगेको छ ।
निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमा समेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोड अनलोड गर्दा किसानले व्ययभार खेप्न बाध्य छन् । त्यसो त भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने सोही प्रकृतिको अर्को पुल पनि निर्माण हुन सकेको छैन । उति नै लागतमा सम्पन्न गर्ने गरी रसुवा स्वच्छन्द पप्पु जेभीले एउटै ठेक्कामार्फत दुई वटा पुल निर्माणको जिम्मा लिएको थियो ।
निर्माण कम्पनीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए ।