• ट्रेण्डिङ:

वडा कार्यालयद्वारा नियमित गर्भजाँच गराउने महिलालाई नुन, तेल, अण्डा र सावुन

वडा कार्यालयद्वारा नियमित गर्भजाँच गराउने महिलालाई नुन, तेल, अण्डा र सावुन

रोदिक खबर

१, आश्विन २०७७
  • 4.2K
    SHARES
  • वडा कार्यालयद्वारा नियमित गर्भजाँच गराउने महिलालाई नुन, तेल, अण्डा र सावुन

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा नियमित गर्भजाँच गराउने महिलालाई आयोडिन नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेको छ ।

    गर्भवती महिलालाई नियमित गर्भ जाँच गर्न प्रोत्साहित गर्नका लागि वडा कार्यालयले प्रोत्साहन स्वरुप नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेको हो । गर्भवतीलाई अनिवार्य गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पु¥याउने वातावरण बनाउन नुन, तेल, अण्डा र सावुन दिन सुरु गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । 

    पहिलो तीन महिनाभित्र गर्भजाँच गराएका गर्भवतीलाई पहिलोपल्ट तथा नौ महिनामा अन्तिम गर्भजाँच गराएका गर्भवतीलाई वडा कार्यालयले दोश्रोपल्ट प्रोत्साहनको व्यवस्था गरेको हो । अन्तिममा प्रोत्साहन पाउनका लागि गर्भवतीले नियमित गर्भजाँच गरेको हुनुपर्ने नियम बनाइएको वडाध्यक्ष राउतले बताए ।

    ‘नियमित गर्भजाँचमा नआउँदा गर्भवती महिलाको क्याल्सियम र आइरन चक्की पनि छुट्दो रहेछ । आमा र बच्चाको अवस्थाका बारेमा पनि थाहा नहुदो रहेछ,’ वडाध्यक्ष राउतले भने, ‘कम्तीमा नियमित गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामा पुग्ने वातावरणका लागि हामीले गर्भवतीलाई नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेका हौँ । नियमित गर्भ जाँच गराएको रहेछ भने अन्तिम गर्भजाँचपछि पनि प्रोत्साहन गर्ने व्यवस्था मिलाएका छौँ ।’ 

    नियमित गर्भजाँच गर्नका लागि प्रोत्साहित गर्न वडा कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ देखि गर्भवती प्रोत्साहनका कार्यक्रम सुरु गरेको हो । बुधबार पहिलो तीन महिनाभित्र गर्भजाँच गराएका चार जना र अन्तिम नौ महिनामा गर्भजाँच गराएका तीन जना गर्भवतीलाई वडा कार्यालयले प्रोत्साहन स्वरुप नुन, तेल, अण्डा र सावुन प्रदान गरेको छ । 

    महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता 

    गर्भवतीलाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा पु¥याउने मंगलटारका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि प्रोत्साहन भत्ता प्रदान गरिएको छ ।

    आ–आफ्नो टोलका गर्भवती महिलालाई वर्थिङ सेन्टरमा लगेर गर्भवती गराउन सहयोग गर्ने ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयले प्रतिसुत्केरी तीन सयका दरले प्रोत्साहन रकम प्रदान गरेको हो । ६ जनाले १८ गर्भवतीलाई स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराउन सहयोग गरेको वडाध्यक्ष राउतले बताए । 

    हलेसी तुवाचुङ नगरपालिकालाई २०७५ साल असार ३० गते पूर्ण बर्थिङ सेन्टरयुक्त नगर घोषणा गरिसकिएको छ । नगरपालिकाका ११ वटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको केही समयपछि नगरपालिकालाई पूर्ण बर्थिङ सेन्टरयुक्त वडा घोषणा गरिएको थियो । 

    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १४:५८:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको