प्रहरीले उद्दार गरिएका रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका सहाराविहीन तीन बालबालिकालाई संरक्षणका लागि विराटनगर पठाइएको छ । सहाराविहीन बनेका खार्पाका स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी नेपाली, ९ वर्षीया छोरी भूमिका नेपाली र ७ वर्षीय छोरा माधव नेपालीलाई बुधवार संरक्षणका लागि विराटनगरको बालसेवा आश्रम पठाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
“घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन बनेका उनीहरुलाई मंगलवार प्रहरीले उनीहरुको घरैमा पुगेर उद्दार गरेको थियो । उनीहरुको पालनपोषण तथा पठनपाठनका लागि विराटनगरस्थित बालसेवा आश्रम पठाइएको प्रनाउ खड्काको भनाइछ ।उनीहरुलाई खोटाङ यातायात प्रा.लि.को हलेसी दर्शन नामको बा ३ ख २९५८ नम्बरको सार्वजनिक बसको टिकट काटेर दुईजना प्रहरीसहित विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
टेकबहादुर यही साउन–६ गतेदेखि जबरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । उनकी ३२ वर्षीया श्रीमती निर्मला नेपालीको वि.सं. २०८० फागुन–२२ गते निधन भएको जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
सहाराविहीन बालबालिकाको बुबा टेकबहादुर सुस्तमनस्थितिकी २२ वर्षीया महिलालाई विवाह गर्ने बहानामा ललाइफकाइ आफ्नै घरमा लगेर जबरजस्ती बलात्कार गरेको आरोपमा महिलाको आफन्तले दिएको जाहेरीको आधारमा प्रहरीले साउन–६ गते पक्राउ गरेको थियो ।
दैनिकजसो मादक पदार्थ सेवन गरेर बस्ने आमाको छ महिनाअघि मृत्यु भएपछि बुबा टेकबहादुरले बनीबुतो गरेर पालनपोषण गर्दै आएकामा बुबासमेत बलात्कार आरोपमा पक्राउ परेसँगै तीन बालबालिकाको बिचल्ली भएको हो । बुबाआमाको लापरबाहीका कारण दुवैको सहारा गुमाएका तीन बालबालिका ठूलीआमा सुमिना नेपालीकामा आश्रय लिएर बसिरहेका थिए । कमजोर आर्थिक अवस्थाका सुमिनाको छोराछोरीसमेत अरुको घरमा गोठालो बस्ने गरेकाले उनीहरुको लापनपालनमा समस्या हुने भएपछि उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उद्दार गरेर जिल्ला ल्याएपछि ती बालबालिकालाई दिक्तेल बजारका केही स्थानीय बासिन्दाले लुगा तथा केही आर्थिक सहयोगसमेत उपलब्ध गराएका छन् । खान, लाउन र सुत्नसमेत नपाएका उनीहरु प्रहरी टोलीले उद्दार गरेर सरसफाइ गर्नुका साथै लुगासमेत फेराइदिएपछि फुरुङ्ग देखिएका छन् ।
सहाराविहीन तीन बालबालिकाको उद्दार गरेर प्रहरीले ठूलो समस्या समाधान गरेको स्थानीय फडिन्द्र श्रेष्ठले बताए । “बुबाआमा दुवैको सहाराविहीन बनेका तीन बालबालिका कति दिन त भोकै बसेका थिए । उनीहरुको खाने, बस्ने र सुत्नेसमेत टुङ्गो थिएन”, उनले भने, “पढ्ने उमेरका बालबालिका खान, लाउन र बस्नसमेत समस्यामा परेका थिए ।
उनीहरुको उद्दार गरेर प्रहरीले ठूलो समस्या समाधान गरेको छ ।” प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्दार गरेको थियो । उद्दार गरिएका उनीहरु अहिले मानव सेवा आश्रम विराटनगरमा सुरक्षित तवरले जीवनयापन गरिरहेका छन् ।
बेसहारा बनेका व्यक्तिको सहज जीवनयापनसँगै खोटाङलाई सडक मानव मुक्त बनाउने अभियानस्वरुप उद्दार गर्ने गरिएको प्रहरीले जनाएको छ । प्रहरीले शुरु गरेको यो अभियानलाई जिल्लावासीले सहयोगसँगै प्रशंसा गरेका छन् ।