खोटाङ । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
च्यास्मिटार बाङ्माका गइन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र ३ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ ।
घरमा ल्याउने बित्तिकै दुईटै बच्चाको मृत्यु भएको जानकारी पाएको प्रनाउ खड्काले बताए ।
घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाका लागि आफ्नै नेतृत्वमा जिल्लाबाट प्रहरी टोली जादै गरेको उनको भनाइ छ ।
खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हिउँदको समयमा स्थानीय उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए ।
हाल बर्खामा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जादैन थिए ।
सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर मृतक संगम स्थानीय कलङ्का आविमा कक्षा २ मा अध्ययनरत थिए । बुवा गइन्द्र रोजगारीको लागि हाल विदेशमा छन् ।
गयन्द्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।