खोटाङ । शुक्रबार बिहानैदेखि दिक्तेल बजारको मौषम सफा थियो । केही छिनमा हुलका हुल हिन्दु नारीहरु हातमा थालीसहित दिक्तेल बजार प्रवेश गर्न थाले । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार भएर धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित बुद्धेश्वर गुफा आवतजावत गर्ने गरिन्छ ।बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ ।
तिजको अवसर पारेर बुद्धेश्वर गुफामा पूजाआजा गर्ने हिन्दु नारीहरु बिहानैदेखि लामवद्ध बसेका थिए । एकाबिहानै पूजाआजा गर्न मझुवागढीस्थित बुद्धेश्वर गुफा पुगेका हिन्दु नारीहरु विस्तारै दिक्तेल बजार फर्किए । हुल बाँधेर पूजाआजा गर्न बुद्धेश्वर गुफा पुगेका हिन्दु नारीहरु दिक्तेल बजार फर्किएलगत्तै चोकचोकमा आयोजित तिज विशेष कार्यक्रममा नाचगान गर्दै दिनभर रमझम गरे ।
दिक्तेल बजारको हाटडाँडा, त्रिवेणीचोक, भवनगैरा, हेलिप्याड, पुरानो बेस क्याम्प, रत्नपार्क लगायतका ठाउँमा तिज विशेष कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न समूहमा आवद्ध हिन्दु नारीहरुले आयोजना गरेका तिज विशेष कार्यक्रममा अन्य समुदायका नारीहरुको समेत उल्लेख्य सहभागिता थियो ।
नेपालमा रहेका सबै जातजातिको धर्म, सँस्कार तथा सँस्कृतिलाई हामी सबैले सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन हिन्दु नारीहरुको महान चाड तिजको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी अम्बिका राईले बताइन् ।
“हामी सबै जातजातिको आ–आफ्नै पहिचान छ । आफ्नो पहिचान तथा सँस्कार/सँस्कृतिलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै अरुको धर्म, सँस्कार तथा सँस्कृतिलाई पनि सम्मान गर्न सक्नुपर्छ”, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेतरहेकी राइले भनिन्, “म प्रकृति पूजक किरात समुदायकी नारी हुँ । म सबै जातजातिको धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदै आएकी छु । यसले सहअस्तित्व कायम गर्न मद्दत गर्छ भन्ने मेरो बुझाइ हो ।”
दिक्तेल बजारमा आयोजित तिज विशेष सबै कार्यक्रममा ठूला साउण्ड सिस्टममार्फत तिज गीतहरु बजाइएको थियो । तिजमा गाइने मौलिक गीत तथा सँगिनी नाचहरु हराउँदै गएकोप्रति कार्यक्रममा सहभागी अग्रज हिन्दु नारीहरुले चिन्ता व्यक्त गरेका छन् । बिगतका वर्षहरुमा भन्दा यस वर्षको तिजमा दिक्तेल बजार आउने हिन्दु नारीहरुको सङ्ख्या वृद्धि भएको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।
“दिनभर हरेक चोकमा तिज विशेष कार्यक्रम थियो । धेरै ठाउँबाट पत्रकार महासङ्घलाई निम्तो पनि आएको थियो । सकेसम्म सबै ठाउँ पुग्ने प्रयास गरियो”, उनले भने, “बिगतका वर्षहरुमा भन्दा यस वर्षको तिजमा दिक्तेल बजार आउने हिन्दु नारीहरुको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि देखियो । यसले आफ्नो सँस्कार÷सँस्कृति संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ भन्ने चेतना सबैमा विकास भएको पाइयो ।”
तिजको अवसर पारेर शुक्रबार दिक्तेल बजारस्थित बुद्धेश्वर गुफासँगै विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, गुप्तेश्वर महादेव गुफा, जुडी महादेव गुफा लगायतका ठाउँमा मेला लागेको थियो । आआफ्नो नजिकमा रहेका धार्मिकस्थलहरुमा पूजाआजा गरेपछि जिल्लाका सबै पालिकाले लालिका स्तरीय तथा वडास्तरीय कार्यक्रम गर्दै तिज विशेष कार्यक्रम गरेका छन् ।
देशमा सङ्घीयता लागू भएसँगै जिल्लास्थित दशवटै स्थानीय तहहरुले हिन्दु नारीहरुको महान चाड तिज विशेष कार्यक्रमका लागि बजेटसमेत उपलब्ध गराउँदै आएका छन् । तिजको अवसरमा स्थानीय तहमा रहेको महिला तथा बालबालिका शाखाको संयोजनमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।