खोटाङ । सुरक्षित आवास गृह नहुँदा वर्षौंदेखि समस्यामा पर्दै आएका हिंसा पीडित महिलाका लागि सुरक्षित गृहको उद्घाटन गरिएको छ ।
बाल सेवा समाज नेपालको २५ औ साधारण सभा उद्घाटन कार्यक्रमकाे अवसरमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोटमा मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले संयुक्त रुपमा सुरक्षित गृहको उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात सुरक्षित गृह संचालनका लागि जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रूपेश संग्रौला र बालसेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलबीच दुईपक्षीय सम्झौता गरिएको छ ।
हिंसा पीडित महिलाका लागि सुरक्षित गृह (सेफ हाउस) का रूपमा बाल सेवा समाजले आफ्नै भवनमा तीनवटा कोठा उपलब्ध गराएपछि सुरक्षित गृह संचालनमा ल्याइएको हो ।
हिंसा पीडित महिलाको अवस्था र न्यायका लागि घरै छोडेर हिँड्नु परेको बाध्यतालाई ध्यान दिएर सुरक्षित गृहको स्थापना गरिएको जिल्ला समन्वय प्रमुख राईले बताए । पीडितलाई राज्यले संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ स्थापना गरेको प्रमुख राईको भनाइ छ।
सुरक्षित गृहलाई जिल्ला अस्पताल खोटाङको आर्थिक सहयोगमा बाल सेवा समाज नेपालले व्यवस्थापन गर्ने भएको छ । जिल्ला अस्पताल खोटाङले बालसेवा समाज नेपाललाई सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता गरेर दिएको बताएको छ ।
सुरक्षित गृह सञ्चालनमा ल्याइएसँगै बालसेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेलले जिल्ला अस्पताल खोटाङले महिलाका लागि सुरक्षित गृहको स्थापना गरेको जिल्लामै सम्भवत पहिलो रहेको बताइन्।
“अहिले घरेलु हिंसा पीडित तथा विभिन्न कारणले समस्यामा परेर उद्दार गरिएका पीडित महिलालाई आपतकालीन अवस्थामा राख्ने व्यवस्था मिलाएका छौँ -भुजेलले भनिन् ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषाेत्तम खड्का, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रूपेश संग्रौला, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईं, करुणा फाउन्डेसनका कार्यक्रम संयोजक संयोग खतिवडा, गैरसरकारी सस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल, शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहाल, करुणा फाउन्डेसन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका संयोजक अनिता कोइराला लगायतको उपस्थिति रहेको अध्यक्ष भुजेलले जानकारी दिइन ।