• ट्रेण्डिङ:

खोटाङमा पहिरोले ३३ घर पुरिए, ३८ घरमा आंशिक क्षति

खोटाङमा पहिरोले ३३ घर पुरिए, ३८ घरमा आंशिक क्षति

रोदिक खबर

१३, आश्विन २०८१
  • 2.4K
    SHARES
  • खोटाङमा पहिरोले ३३ घर पुरिए, ३८ घरमा आंशिक क्षति

    खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएको छ भने, दुई जना घाइते तथा ३८ वटा घरमा आंशिक क्षति भएको छ ।

    तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले ३३ वटा घर पूर्णरुपमा क्षति गर्नुका साथै दुई जना स्थानीयबासी घाइते तथा ३८ वटा घरमा आंशिक क्षति गरेको हो ।

    बाढी तथा पहिरोका कारण जिल्लामा मानवीय क्षति नभए पनि करोडौँको धनमालमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

    “बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति गरेको छ । जिल्लामा भएका क्षतिको पूर्ण विवरण अझै आइसकेका छैनन्”, उनले भने, “दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुई जना स्थानीय घाइते भएका छन् भने, १८ वटा पशुचौपाया पुरिएर मरेका छन् ।

    विस्थापितहरुको उद्धारमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।” बाढी तथा पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत बसेको छ ।

    प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’को उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरेर छिटोभन्दा छोटो राहत उपलब्ध गराउने निर्णय भएको छ ।

    बाढी तथा पहिरोले घर लगाएर विस्थापित बनेका १३५ जना स्थानीयबासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । “

    बाढी तथा पहिरोले एउटा पक्की बगाउनुका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्”, उनले भने, “जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन ।

    अहिलेसम्म विकासे योजना बाहेक मानिसका घरमा मात्र ७९ लाख ९९ हजार बढीको क्षति भएको भन्ने जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरी फिल्डमै भएकाले थप विवरण आउन बाँकी छ ।”

    भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

    वि.सं. २०७९ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु शनिबार दिउँसो आएको बाढीले बगाएको हो ।

    अविरल वर्षाका कारण जिल्लाका सबै सडक अवरुद्ध भएको जनाइएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएका हुन् । सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुहरु बीच सडकमै अलपत्र परेको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिए । अवरुद्ध सडक खुलाउन मध्यपहाडी लोकमार्ग तथा सम्बन्धित स्थानीय तहका मेसिन प्रयोग गरिएका छन् । बाढी तथा पहिरोले जिल्लामा सञ्चालित विकासे योजनाहरु खानेपानी, सिँचाइ, विद्युत लगायतमा समेत ठूलो क्षति पुगेको बैठकमा सहभागी विषयगत कार्यालयका प्रमुखहरुले बताएका छन् । यससँगै जिल्लाका कृषकले लगाएका अन्नबाली तथा फलफूल खेतीमा समेत ठूलो क्षति गरेको जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - २३:२९:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको