अवरुद्ध सडक खुलाउन नगरप्रमुख बिमला राई लगायतको टोली रातभर फिल्डमै

अवरुद्ध बनेको हलेसी–जयराम सडक ३२ घण्टापछि खुल्यो

अवरुद्ध बनेको हलेसी–जयराम सडक ३२ घण्टापछि खुल्यो

रोदिक खबर

१९, आश्विन २०८१
  • 2.6K
    SHARES
  • अवरुद्ध बनेको  हलेसी–जयराम सडक ३२ घण्टापछि खुल्यो

    खोटाङ, १९ असोज। अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक करीव ३२ घण्टापछि खुलेको छ । नगरपालिकाले व्यवस्थापन गरेको दुई वटा जेसिबि प्रयोग गरेर पहिरो पन्छाइएपछि शनिबार बिहान ७ः३० बाट सडक सञ्चालनमा आएको हो ।

    १७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहानबाटै नगरपालिकाले सडकको पहिरो पन्छाउन सुरु गरेको थियो ।शुक्रबार साँझसम्म पनि पहिरो पन्छाउन नसकेपछि नगरप्रमुख बिमला राई लगायतको टोली रातभर फिल्डमै रहेर शनिबार बिहान सडक खुलाइएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा धेरै  ठुलो पहिरो खसेकाले सडक खुलाउन ढिला भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख राईले बताइन् ।

    बाहुनीडाँडाको कदुवामा खसेको २ वटा पहिरो रातभर लगाएर पन्छाइएको थियो बिहान ५ बजे कदुवाको पहिरो पन्छाएर सकिएको हो ।

    पुनः बोझे भन्ने ठाउँमा पहिरो खसेपछि सडक सुचारु हुन सकेको थिएन् । बोझेको पहिरो पन्छाएर बिहान ७ः३० बाट पूर्णरुपमा सडक सञ्चालनमा ल्याइएको नगरप्रमुख राईले बताइन् ।

    दसैँका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा बिहिबार रातीदेखि अलपत्र परेका थिए । खोटाङबाट तराई र वैकल्पिक सडकबाट काठमाडौंकालागि गएका सवारीसाधन एवं यात्रु पनि बाटैमा अलपत्र थिए ।

    सडक सञ्चालनमा आएपछि करिब ३२ घण्टा थुनिएका यात्रु गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएर यात्रु अलपत्र पर्दा पनि सडक बिभागले पनि बेवास्ता गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले जेसिबि प्रयोग गरेर सडक सुचारु गरेको हो ।

    प्रकाशित मिति :आश्विन १९, २०८१ शनिवार - १०:२५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको