खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागी पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले तत्काल १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । ७ नम्बर वडामा पर्ने हलेसी बजारमा भएको आगलागी पीडितलाई नगरपालिकाले तत्कालीन राहत दिने निर्णय गरेको हो ।
सोमबार बसेको नगर कार्यपालिका बैठकले पीडितहरुलाई तत्कालीन राहत दिन १० लाख व्यवस्था गरेको नगरप्रमुख बिमला राईले बताईन् । नगरप्रमुख राईका अनुसार राहत दिनका लागि जनप्रतिनिधि र निजामति कर्मचारीको २ दिन बराबरको सेवा सुविधा र तलब कटौती गर्ने निर्णय गरिएको छ । त्यसैगरी शिक्षक र करार कर्मचारीको एक दिन बराबरको तलब पनि राहत कोषमा जम्मा गरिने भएको छ ।
‘सुरुवाती राहत वितरण गर्न १० लाख जुटाउन यो निर्णय गर्दै आजै नगर विपत व्यवस्थापन कोषमा रकम जम्मा गरिसक्यौँ’ नगर प्रवक्ता तथा ७ नं. वडाध्यक्ष कमल गिरीले भने ‘यो तत्कालीन राहत हो, यसपछि अन्य तरिकाबाट थप राहत व्यवस्थापन गर्नेतर्फ पनि हामी लाग्ने छौँ ।’
साथै सम्बन्धित निकायमा पनि सक्दो राहत प्राप्तीका लागि सिफारिस गर्ने काम नगरपालिकाले सुरु गरिसकेको गिरीले बताए ।
हलेसी मन्दिरनजिकै पदमशेर राईले सञ्चालन गरेको पूजा हार्डवेयरबाट उब्जेको आगोले ५ घरमा क्षति पुर्याउँदा ७ करोड ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार आगलागीबाट राईको काठ र टिनको छानोवाला घर र त्यसमा रहेको सम्पूर्ण हार्डवेयर सामग्री, फर्निचर, साढे ३ लाख नगद र सोही घरमा रहेको निर्धन लघुवित्त विकास बैँकको सम्पूर्ण कागजात र नगदसमेत नष्ट भएको छ ।
त्यसैगरीे छिमेकी ऐराख राईको न्यू कल्याण होटल तथा लज रहेको साढे ३ तले घरका सबै फर्निचर, लुगाफाटा र घर जलेर २ करोड ५० लाख बरबरको क्षति भएको छ ।
अर्का छिमेकी भरणसेर राईको पारुहाङ होटेल भएको काठको कच्ची घर र पछाडिको अर्को ४ तले पक्की घरमा क्षति हुँदा ५० लाख बराबर नोक्सान पुगेको प्रहरीको प्रारम्भिक भनाइ छ ।
त्यहीँका प्रकाशचन्द्र गिरीको फलामे ट्रस प्रविधिको घरमा सञ्चालन गरेको हलेसी दर्शन होटल पनि ध्वस्त भएर ३० लाख क्षति पुगेको प्रनाउ विष्टले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले साँझ ७ः३० बजेजस्तो समयमा उब्जेको आगो सदरमुकामबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल खटाएर तीन घण्टामा निभाइएको बताए ।
सुरक्षाकर्मीलाई स्थानीयबासी र जनप्रतिनिधिको पनि साझा प्रयासमा ढिलै भए पनि आगो नियन्त्रणमा ल्याउन सफल भएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए ।
जिल्लामा दमकल नहुँदा आगो निभाउन निकै कठिनाई भएको पनि निमित्त प्रजिअ राईले बताए ।
खोटाङका सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ गरी २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह कुनैमा पनि अहिलेसम्म दमकल नभएकाले आगलागी हुँदा समस्या पर्ने गरेको छ ।
जिल्लामा दमकल नभएका कारण आगो निभाउन नजिक पर्ने ओखलढुङ्गाको दमकल बोलाइएकोमा चालक नभएको भन्दै नआएपछि उदयपुरको कटारीबाट बोलाइएको थियो । तर, लामो दूरी र रातिको समय भएकाले आईपुग्न ढिला भए पनि सामुहिक प्रयासले आगो नियन्त्रण गर्न सफल भएको स्थानीयले बताएका छन् ।
वडाध्यक्ष गिरीका अनुसार आगलागी हुनुको कारण विद्युत सर्ट भएर भन्ने प्रारम्भिक निष्कर्ष प्रहरीको छ । तर, समयमै आगो नियन्त्रण गरिएकाले हलेसीमा अकल्पनीय क्षति हुनबाट बँचेको उनले बताए ।
समसाँझै घट्ना भएकाले पनि धेरै र मानवीय क्षति बेहोर्नु नपरेको गिरी बताउँछन् । ‘साँझमै घट्ना भएकाले मान्छे सुतिसकेका थिएनन् र भौतिक क्षति मात्र भयो’ उनले भने ‘केही बेरपछि मात्र भए मानवीय र भौतिक दुवैतर्फ अकल्पनीय क्षति हुनसक्थ्यो ।’