बाँसजन्य सामाग्री निर्माण सम्बन्धी तालिम सम्पन्न

बाँसजन्य सामाग्री निर्माण सम्बन्धी तालिम सम्पन्न

रोदिक खबर

२२, जेठ २०८२
  • 2.7K
    SHARES
  • बाँसजन्य सामाग्री निर्माण सम्बन्धी तालिम सम्पन्न

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बाँसजन्य सामाग्री निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाको आयोजना तथा चाँगुनाराण फाउण्डेसन भक्तपुरको सह आयोजनामा २०८१ मंसिर २८ गतेदेखि २०८२ को जेठ २२ गतेसम्म पर्शुराम कृषि फर्म नेर्पामा सञ्चालन भएको तालिम समापन भएको हो।

    उक्त अवधिको तालिममा १५ जनाले एडभान्स र ३० जनाले बाँसबाट सामाग्री निर्माण सम्बन्धी आधारभूत तालिम लिएका थिए। तालिममा सहभागीहरुलाई हेटौडाका चन्द्र बहादुर थिङ, अंक बहादुर मगर र भारतबाट आएका प्रभात सैकियाले बाँसबाट सामान बनाउने सीप सिकाएका थिए।

    करीव ६ महिनाको तालिम अवधिमा सहभागीहरुले बाँसबाट विभिन्न किसिमका आर्कषक सामाग्रीहरु तयार गरेका छन्। बाँसबाट तयार पारिएका ती सामाग्रीहरु विक्री गरिने र बनेका अधिकांश सामानहरुको अर्डर भईसकेको नगरपालिकाले जनाएको छ ।

    सीप सिकेकाहरुले निर्माण गरेका सामाग्रीहरु विक्रीका लागि बजारको व्यवस्थापन नगरपालिकाले गरिदिने जनाएको छ । तालिमको बिहीबार औपचारिक कार्यक्रम गरेर समापन गरिएको छ । समापनमा सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको छ ।

    तालिमको समापनमा भारतीय प्रशिक्षक प्रभात सैकिया, चाँगुनाराण फाउण्डेसनका सदस्य सरोज लामिछाने, समाजसेवी सूर्य राई, नेर्पाका वडाध्यक्ष माधव राई, जालपाका वडाध्यक्ष दान बहादुर राई, वरिष्ठ पत्रकार कृष्ण आचार्य र प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बाँसबाट राम्रो आम्दानी गर्न सकिने लक्षण देखिएको र यसको निरन्तरता हुनुपर्ने बताए ।

    समाजलाई गतिशील बनाउनका लागि बाँसले काम गर्ने गरेको भए पनि त्यसको उपयोगिता नभएकाले हाम्रो तहबाट प्रयत्न गर्नुपर्छ भनेर बाँसलाई आयआर्जनसँग जोड्न खोजिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    बाँसले दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वासका साथ गत फागुन १५ गतेदेखि १७ गतेसम्म नगरपालिकाले दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन गरेको थियो ।

    सम्मेलनले खोटाङमा बाँस संग्रहालय स्थापना गरी खोटाङलाई बाँसको राजधानीको रुपमा पहिचान दिलाउन पहल गर्ने लगायत ३५ बुदे घोषणा पत्र जारी गरेको थियो ।

    प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - २१:३४:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको