खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका समाजसेवी गोपाल सैंजुले दिक्तेलबजारस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट सहित खेलकुद सामग्री वितरण गरेका छन् । सैंजुले सरस्वती मावि कक्षा–१ देखि कक्षा–५ सम्मका एक सय जना विद्यार्थीलाई एक सय जोर ट्रयाकसुट, तीन वटा भलिवल, दुई वटा भलिवल जाली, तीनवटा पम्प, तीनवटा फूटबल र २४ वटा निकाप वितरण गरेका हुन् । ट्रयाकसुटसहित खेलकुद सामग्री व्यक्तिगत एक लाख बढिको लागतमा खरीद गरेर वितरण गरिएको सैंजुको भनाई छ ।
सरस्वती माविमा कक्षा–१ देखि कक्षा–५ सम्म २२५ जना विद्यार्थी अध्ययनरत छन् । बाँकी १२५ जना विद्यार्थीका लागि असारभित्रै ट्रयाकसुट उपलब्ध गराउने सामाजसेवी एवम् पूर्वविद्यार्थी समेत रहेका सैंजुले बताए ।
ट्रयाकसुटसहित खेलकुद सामग्री वितरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा वस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष बलराम दाहाल, प्रधानाध्यापक शिवहरी ढकाल लगायतको उपस्थिति थियो ।