खोटाङ । पानीको बहाव बढेर वारपार गर्न समस्या भएपछि लोचा खोलामा श्रमदानबाट काठे पुल निर्माण गरिएको छ । खोटाङको रावाबेसी गाउँपालिका –६ हौँचुर र १ कुभिण्डे जोड्ने लोचा खोलामा श्रमदानबाट अस्थायी काठे पुल निर्माण गरिएको हो ।
बर्खा लागेसँगै हौँचुर खोला अर्थात लोचा खोलामा पानीको बहाव बढेपछि मोटरसाइकल वारपार गराउन कठिन हुन थालेको छ । उक्त समस्यालाई मध्यनजर गर्दै शनिबार श्रमदान गरेर अस्थायी काठेपुल निर्माण गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताए ।
मानिस वारपार गर्न भने सडक भन्दा केही माथि झोलुङ्गे पुल रहेको छ । सडकबाट झोलुङ्गे टाढा रहेकाले मोटरसाइकल खोलाबाटै तार्नु पर्ने समस्या छ । जसकारण मोटरसाइकल वारपार गराउन काठे पुल निर्माण गरिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
श्रमदानबाट काठे पुल निर्माण भएसँगै मोटसाइकल वारपार गराउन र मानिस पनि वारपार गर्न सहज भएको स्थानीयले बताएका छन् । अघिल्लो वर्ष पनि स्थानीयले श्रमदान गरेर लोचा खोलामा काठे पुल निर्माण गरेका थिए ।
श्रमदानमा गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख, प्रशासकीय अधिकृत सरोज रेग्मी, वडाध्यक्ष कार्कीसँगै पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी र हौँचुरका युवाहरुको उपस्थिति रहेको बताइएको छ ।
हरेक वर्ष बर्खा लागेसँगै पानीको बहाब बढ्दा लोचा खोलाले दुःख दिने गरेको छ । उक्त खोलामा मोटरेबल पुल निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षे योजनामा समावेस गरेको छ ।
कोशी प्रदेश सरकारबाट ५ करोड ११ लाख ४६ हजार बजेटको स्रोत सुनिश्चित पनि भइसकेको छ । यहि असार महिना भित्र पुल निर्माणको लागि ठेक्का खुल्ने भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले बताए । मोटरेबल पुल निर्माण पश्चात भनेलोचा खोलाले यात्रुलाई दुःख दिने छैन् ।