खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रिय विद्युत विस्तार गरिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै विद्युत विस्तारको कामलाई तीव्रता दिएको गाउँपालिकाले वाप्लुखामा केन्द्रिय प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराएको एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा विद्युत विस्तार गरिएको हो । वाप्लुखामा आयोजित कार्यक्रममा आईतबार गाउँपालिकाका अध्यक्ष प्रदीप राईले रिवन काटेर विद्युत उद्घाटन गरेका हुन् ।
गाउँपालिकाका अनुशार वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घरमा विद्युत पुगेको छ । वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तिब्रता दिइएको गाउँपालिका अध्यक्ष राईले बताए । विद्युत उद्घाटनकाक्रममा गाउँपालिकाका उपाध्यक्ष कविता राई लगायत वाप्लुखा पुगेका थिए ।

खोटेहाङ गाउँपालिकाले हाल विद्युतको पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तिव्रता दिएको छ । गाउँपालिका अध्यक्ष राईका अनुसार अव खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई मात्र विद्युतले छुन बाँकी छ । यद्यपी लिकुवापोखरीको सीमासम्म मेनलाइन विस्तार भइसकेको छ ।
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा पनि मेनलाईनमा विद्युत बलिसकेको छ । ९ वडामध्ये हालसम्म खोटेहाङ गाउँपालिका–४ बड्कादियाले, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ, खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी, खोटेहाङ गाउँपालिका–७ खोटाङबजार, खोटेहाङ गाउँपालिका–८ सिमपानी र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत पुगिसकेको छ ।
आगामी आर्थिक वर्ष सबै वडामा विद्युत विस्तारको कामलाई पुरा गरिने गाउँपालिका अध्यक्ष राईले बताए । विद्युत विस्तारका लागि चालु आर्थिक वर्ष १ करोड विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
‘हामी निर्वाचित भएको बेला खोटाङबजार, सिमपानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युतको मेनलाइन मात्र विस्तार भएको अवस्था थियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत पुगिसकेको छ ।
बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तिव्र बनाएका छौँ । आगामी आर्थिक वर्ष सबै वडामा विद्युत पु¥याउने हाम्रो लक्ष्य छ ।’