खोटाङ । खोटाङकाे खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय खाेटाङकाे संयुक्त आयाेजनामा खाेटेहाङ गाउँपालिकाकाे सभा हलमा आइतबार प्रशासन र प्रहरीबाट संचालन गरिने सार्वजनिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
खाेटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राईकाे प्रमुख आतित्थ्यता एवम् प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन र प्रहरी कार्यालयबाट संचालन गरिने सेवा प्रवाह, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा सरोकारवालाहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।
कार्यक्रममा सहभागीहरुले प्रशासन र प्रहरीले दिने सेवा प्रवाहमा केही सुधार आएपनि समाजमा विकृति विसंगति, दुव्र्यसनी जस्ता घटनाहरु भने मौलाएकोले अपराधिक घटनाहरु न्युनिकरणका लागि जनचेतना बिस्तारमा जोड दिनुपर्ने, सेवा प्रवाहमा सिस्ट भाषाको प्रयोग गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक प्रकाश बुढाथोकी लगायतले जवाफ दिएका थिए ।
कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधिहरु, नागरिक समाज, सरोकारवाला निकाय, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।