खोटाङ । खोटाङको दिक्तेलमा स्थानीय महिलालाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजित १० दिने मुढा बनाउने तालिम सम्पन्न भएको छ।
कालिका वडा स्तरीय महिला समूह दिक्तेलको आयोजना तथा टेवा ललितपुरको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमले सहभागी महिलालाई स्वरोजगारमूलक सीप प्रदान गरेको आयोजकले जनाएको छ।
देविस्थान एकता समाज, दिक्तेलको सभा हलमा सम्पन्न तालिममा ११ जना महिलाको सहभागिता रहेको थियो। आयोजकका अनुसार तालिमले महिलालाई घरेलु उत्पादनमार्फत आयआर्जनका नयाँ अवसर तयार पार्ने अपेक्षा गरिएको छ।
महिला समूहकी अध्यक्ष लोकमाया थापा (गीता) को अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडा अध्यक्ष नवराज राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि दिल्ली कुमारी आचार्य, वडा सदस्य गोमा बिक, नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्षद्वय चिसाङ शेर्पा र सविना अछामे लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।