मोटरसाइकल दुर्घटनामा खोटाङमा एक जनाको मृत्यु खोटाङ । मोटरसाइकल दुर्घटना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो ।
खड्का कृषि ज्ञान केन्द्र खोटाङमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । मध्य पहाडी लोकमार्गअन्र्तगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुक्रवार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइए पनि अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा निवासी ३० वर्षीय दिनेश आचार्यले चलाएको प्रदेश नम्बर १–०५–००१ प १७६४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट करिब १५० मिटर तल खसेको अवस्थामा भेटिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार खड्का गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
मोटरसाइकल चालक आचार्यको मदिरा परीक्षण (मापसे) गरिएको र उनलाई नियन्त्रणमा लिएर आवश्यक मेडिकल परीक्षणपछि जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।