• ट्रेण्डिङ:

गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा सडक मर्मत गरिने

गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा सडक मर्मत गरिने

रोदिक खबर

६, आश्विन २०७७
  • 5.2K
    SHARES
  • गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा सडक मर्मत गरिने

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ट्याक्टर व्यवसायीसँगको सहकार्यमा सडकको खाल्डाखुल्डीमा रोडा भर्ने तयारी गरेको छ । गाउँपालिकाको आग्रहमा गाउँपालिकाभित्रका २१ जना ट्याक्टर व्यवसायीले वर्षाका कारण सडकमा बनेको खाल्डाखुल्डीमा रोडा भर्न र मर्मतसम्भारका लागि निःशुल्क ट्याक्टर उपलव्ध गराउन तयार भएका हुन् । 

    वर्षाका कारण अधिकांश सडकमा खाल्डाखुल्डी बनेपछि सवारी साधन आवत–जावतमा समस्या भइरहेको अवस्थामा मंगलबार बसेको बैठकले सडक मर्मत सम्भार स्वरुप खाल्डाखुल्डीमा भर्ने रोडा ओसार्न ट्याक्टर व्यवसायीले तीन/तीन दिन ट्याक्टर उपलव्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    2.JPG

    दशैं र तिहार नजिकिदै गरेको अवस्थामा गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा गाउँपालिकाभित्रका मूख्य–मूख्य सडक मर्मतको तयारी गरिएको हो । गाउँपालिकाभित्रका प्रमुख सडककारुपमा रहेको रमाईलो–छितापोखरी, टुवाखोला–तावा खोला, याम्खा–खानीडाँडा र रेग्मीटार–पञ्चमी सडकका खाल्डाखुल्डीमा रोडा भर्ने तयारी थालिएको हो । 

    बैठकमा सडक मर्मत सम्भारकाक्रममा रोडा ओसार्नका लागि हरेक ट्याक्टर व्यवसायीले एक÷एक वटा ट्याक्टर तीन दिनसम्म निःशुल्क उपलव्ध गराउने सहमती भएको छ । सडकको खाल्डोमा थुपारिएको रोडालाई जेसिभी लगाएर सम्याउने तयारी गरिएको अध्यक्ष राईले बताए ।

    ‘वर्षाका कारण सडकमा जताततै खाल्डाखुल्डी बनेका छन् । ती खाल्डाखुल्डी पुरेर सडकलाई सुचारु गराउनका लागि ट्याक्टर व्यवसायीलाई आग्रह गरिएको हो,’ गाउपालिका अध्यक्ष राईले भने, ‘सडकको खाल्डोमा हाल्ने रोडा ओसार्ने चालक, सह–चालक तथा लोडअनलोडमा खटिने व्यक्तिलाई गाउँपालिकाले खाना खुवाउने निर्णय भएको छ । दशैं तिहारका लागि सडकलाई चुस्त बनाउने हाम्रो तयारी हो ।’ 

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - २२:३२:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको