• ट्रेण्डिङ:

सामाजिक सुरक्षाभत्ता दुरुपयोगबाट रोक्न अभियान शुरु

सामाजिक सुरक्षाभत्ता दुरुपयोगबाट रोक्न अभियान शुरु

रोदिक खबर

६, आश्विन २०७७
  • 3.2K
    SHARES
  • सामाजिक सुरक्षाभत्ता दुरुपयोगबाट रोक्न अभियान शुरु


    खोटाङ । खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्तामा भइरहेका अनियमितता रोक्नका लागि अभियान थालेको छ । वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान थालेको हो ।

    नक्कली कागजात खडा गरेर सामाजिक सुरक्षा भत्तामा भइरहेको अनियमितता रोक्नका लागि कडाईका साथ अभियान थालिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झंकार) ले बताए ।

    मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोराएर, एउटै नागरिकता नम्बर देखाएर, एउटै जन्ममिति उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भइरहेको पाइएको गाउँपालिकाले जनाएको छ ।

    सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजार २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ ।

    ‘नक्कली व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता भुक्तानी हुँदै आएको पाइएपछि दावी विरोधका लागि असोज ५ गते नामावली सहित १५ दिने सूचना जारी गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए । 

    दावी विरोधका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३५५ जना, साकेला गाउँपालिका–२ रतन्छाका २९८ जना, साकेला गाउँपालिका–३ खिदिमाका १२७ जना, साकेला गाउँपालिका–४ मात्तिमका २५९ जना र साकेला गाउँपालिका–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको छ ।

    प्रथम चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गर्नु अगाडि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तीको नामावलीलाई निक्र्यौल गर्न दावी विरोधका लागि सार्वजनिक गरेको हो । प्रथम चौमासिकमा (साउन–कात्तिकका लागि) कुल १ करोड १९ लाख ३६ हजार सामाजिक सुरक्षा भत्ता निकासा भएको छ ।

    ‘सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति सही हो वा होईन । मरिसकेका छन् वा बसाइ सरिसकेका छन् ? हुँदै नभएको मान्छेको नाम पो छन् की भन्ने निक्र्यौलका लागि नामावली सार्वजनिक गरिएको हो,’ पञ्जिकरण शाखा प्रमुख राईले भने, नक्कली कागजात बनाएर राज्यको पैसा मास्न पाइन्न । सही मान्छेले मात्र सामाजिक सुरक्षा भत्ता पाउने वातावरण बनाउन अभियान थालिएको हो ।’ 

    अघिल्लो चौमासिकमा गाउँपालिकामा १ करोड ६५ लाख सामाजिक सुरक्षा भत्ता वितरण भएकोमा ‘नक्कली व्यक्ती’को नाम कटाउन थालेपछि यो चौमासिकमा सामाजिक सुरक्षा भत्ताको मात्रा १ करोड १९ लाख ३६ हजारमा झरेको हो । दावी विरोधपछि सामाजिक सुरक्षा भत्ता पाउने वास्तविक व्यक्तिको निक्र्यौल हुने र सामाजिक सुरक्षा भत्ताको मात्रा थप घट्ने गाउँपालिकाले जनाएको छ ।

    सामाजिक सुरक्षा भत्ता वितरणमा ‘फल्ट’ देखिएपछि लगत कटाउँदा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ४४ लाख वितरण हुने गरेकोमा ३६ लाख ५७ हजारमा झारिएको, साकेला गाउँपालिका–४ मात्तिममा ४२ लाख वितरण हुने गरेकामा हाल २१ लाख २० हजारमा झारिएको, साकेला गाउँपालिका–५ मात्तिममा ३७ लाख वितरण हुने गरेकामा हाल १९ लाखमा झारिएको पञ्जिकरण शाखा प्रमुख राईले बताए । अन्य वडाको तुलनामा रतन्छा र खिदिमामा मात्र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको नामावली ‘क्लियर’ देखिएको छ । 

    भोट बिग्रिने भन्दै जिल्लाका अन्य स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउन अग्रसरता देखाउन सकेका छैनन् । भोट घट्ने’ सुझाव पाउँदा–पाउँदै पनि साकेला गाउँपालिका अध्यक्ष खड्का सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन अघि सरेका हुन् । 

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - २३:०१:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको