• ट्रेण्डिङ:

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

रोदिक खबर

२७, पौष २०८२
  • 1.3K
    SHARES
  • आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

    काठमाडौँ : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्र एकीकरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिँदैछ ।

    दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

    तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेकाले नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रहरूमध्ये एक रहन सफल भएको हो ।

    विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरी एकीकरण अभियान सञ्चालन गरेका थिए ।

    उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन् । भौगोलिक अवस्थालाई ध्यानमा राख्दै उनले नेपाललाई ‘दुई डुङ्गाबिचको तरुल’को संज्ञा दिएका थिए ।

    पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा पुनः सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ ।उनको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रमसहित मनाइने गरिएको छ ।

    नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

    प्रकाशित मिति :पौष २७, २०८२ आइतवार - ०६:५१:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको