बिहिवार, कार्तिक १३ गते २०८३

खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक तराईसँग सिधा यातायातमा जोडियो

खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक तराईसँग सिधा यातायातमा जोडियो

रोदिक खबर

२४, माघ २०८२
  • 2.6K
    SHARES
  • खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक तराईसँग सिधा यातायातमा जोडियो

    खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोसीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो।

    खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोसीमा शनिबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ ।

    FB_IMG_1770456952849.jpgवंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो ।

    निवर्तमान कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बेलिब्रिजमा सवारीसाधन गुडाएर गाडी तारेसँगै बेलिब्रिज सञ्चालन आएको हो।

    अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ ।

    जिल्लाको जन्तेढुङ्गा, वराहपोखरी र खोटेहाङ गाउँपालिकाका साथै भोजपुरका केही गाउँका नागरिकलाई तराई आउजाउ गर्न सबैभन्दा छोटो दुरीको नाका वंशिलाघाट हो ।

    FB_IMG_1770456998113.jpgउदयपुरको बेलटार नजिकै पर्ने वंशिलाघाटमा बेलिब्रिज निर्माण भएसँगै खाद्यान्न आयात–निर्यात र यात्रुलाई तराई आउजाउ गर्न सहज भएको कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री राईले बताए ।

    बेलिब्रिजबाट अस्थायी रूपमा सिधा यातायात सञ्चालनका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक करोड ८७ लाख रुपियाँमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको बेलिब्रिज जडान गरिएको हो ।

    ५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइ भएको बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपैयाँमा जडान गरेको भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख बिनम दाहालले बताए ।

    खोटाङको यस भूभाग पहिलो पटक तराईसँग सिधा यातायात सञ्जालमा जोडिनु ऐतिहासिक उपलब्धि भएको स्थानीयहरूको भनाइ छ।

    बेलिब्रिज सञ्चालनपछि आवागमनमा मात्र नभई व्यापार–व्यवसाय, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सार्वजनिक सेवा प्रवाहमा समेत उल्लेखनीय सहजता हुने जनाईएको छ।

    नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी सम्झौता भएको बताइएको छ ।

    हाल बेलिब्रिज जडान गरिएको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार ४०० रुपैयाँ लागतमा ३३ महिनाभित्र सम्पन्न गर्ने गरी २०७९ मङ्सिर १ गते कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो । तर, पुल निर्माणमा चरम ढिलासुस्ती भइरहेको छ । निरन्तरको ताकेता पश्चात् अहिले निर्माण कम्पनीले पुल निर्माणको काम पनि धमाधम गरिरहेको मन्त्री राईले बताए ।

    वंशिलाघाटमा झोलुङ्गे पुलको सहारामा ठेलागाडीबाट सामान वारपार गर्नुपर्ने बाध्यता थियो । हिउँदको महिनामा नदीबाटै जोखिम मोलेर काठका डुङ्गाहरू तार्ने गरिएको थियो ।

    लामो समयदेखि प्रतीक्षारत यो बेलिबृज सञ्चालनमा आएसँगै खोटाङको दक्षिणी भूगोलले तराईसँग पहिलो पटक सिधा यातायात जोडिएको हो।

    प्रकाशित मिति :माघ २४, २०८२ शनिवार - १८:०७:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको