खोटाङ। दाहाल प्रतिष्ठान शाखा समिति खोटाङले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन जना व्यक्तित्वलाई सम्मान गरेको छ।
शनिबार दिक्तेलस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न चौथो जिल्ला अधिवेशनको अवसरमा दृष्टिविहीन भए पनि सांगीतिक क्षेत्रमा सक्रिय योगदान दिँदै आएका गायक तथा संगीतकार भक्त बिश्वकर्मा, सामाजिक अभियन्ता भक्तबहादुर दाहाल र अक्षयकोषदाता दीपक दाहाललाई सम्मान गरिएको हो।
सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका बिश्वकर्मालाई दोसल्ला ओढाएर नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।
यस्तै, सामाजिक क्षेत्रमा योगदान पुर्याएका भक्तबहादुर दाहाललाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो भने प्रतिष्ठानको कार्यालय निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउनुका साथै ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका दीपक दाहाललाई दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष लिलाबहादुर दाहालले जानकारी दिए।
समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको प्रतिष्ठानले आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक र मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
दाहाल प्रतिष्ठान कुलबधु सेवा समाजका केन्द्रीय संयोजक रीता पाठक (दाहाल) को प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य बलराम दाहाल, अक्षयकोषदाता दीपक दाहाल, पूर्व केन्द्रीय सदस्यहरू दिलीप दाहाल र गोमादेवी दाहाल तथा नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्ष चिसाङ शेर्पा लगायतको उपस्थिति रहेको थियो।