खोटाङ। नेपाल पत्रकार महासंघ खोटाङ शाखाले नयाँ वर्ष २०८३ को अवसर पारेर भित्तेपात्रो सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा महासंघले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रो मंगलवार सार्वजनिक गरिएको हो।
महासंघका सचिव राजकुमार भट्टराईका अनुसार कार्यक्रममार्फत भित्तेपात्रो सार्वजनिक गर्दै नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिएको थियो।
हरिबोल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार कृष्ण आचार्य, महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, पूर्व अध्यक्षहरू डम्बरसिं राई र दमन राई, प्रेस सेन्टर नेपाल लेखा आयोगका सचिव भीम राई, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईं लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा बाेल्ने वक्ताहरूले पत्रकारहरूबीच शुभकामना आदान–प्रदानसँगै पत्रकारिताको विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा सञ्चार क्षेत्रलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा आआफ्नो धारणा राखेकाे महासंघले जनाएको छ।
कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।