खोटाङ, १९ वैशाख । कोशी प्रदेश अन्तर्गत खोटाङ जिल्लामा सञ्चालित विभिन्न विकास योजनाको अनुगमन गरिएको छ। शनिबार कोशी प्रदेश प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति एवं प्रदेश सभा सदस्य होमबहादुर थापाको नेतृत्वमा आएको टोलीले जिल्लाका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गरेको हो।
टाेलिले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट खोटाङमा सञ्चालन भइरहेका खानिडाँडा-आहाले–याम्खा सडक योजना, लोचा–नुनथला खानेपानी योजना, बरडाँडा नयाँ प्रविधिमा आधारित सिंचाई योजना, जिल्ला समन्वय समितिदेखि लाेकसेवा आयोगको कार्यालयसम्मको पहिरो नियन्त्रण योजना तथा काँडेधारा खानेपानी लगायतका योजनाहरुको स्थलगत अनुगमन गरेको थियो ।
योजना कार्यान्वयनका चुनौती समाधान गर्दै दिगो र प्रभावकारी विकास सुनिश्चित गर्न तथा योजनाहरू समयमै सम्पन्न गरी जनतालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले अनुगमन गरिएको समितिका सभापति थापाले बताए ।
अनुगमनका क्रममा खोटाङमा योजनाहरूको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको पाईएको सभापति थापाको भनाईछ ।
अनुगमन टोलीमा प्रदेश सभा सदस्य तथा समितिका सदस्यहरू तिलकुमार म्याङ्बो, कमल प्रसाद जगेबु, खड्गबहादुर बस्नेत, गोविन्द गिरी, निमसरी राजवंशी र नुरसदी बेगम सहभागी थिए। साथै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख डा. महेश यादव, पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहन महासेठ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्य, निवर्तमान अध्यक्ष दिलीप खत्री लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।