खोटाङ, २ जेठ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंर र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको फोक्सिङटार जोड्ने सडकको ट्र्याक खोलिएको छ । सुनकोसीको किनारैकिनारमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने धाप्लाङघाट र फोक्सिङटार जोड्ने ९ किलोमिटर सडकको ट्र्याक खोलिएको हो ।
आर्थिक वर्ष २०७९/०८० यता तीन खण्डमा साउनेचौंर–फोक्सिङटार सडकको ट्र्याक खोल्ने काम पुरा गरिएको हो । साउने–लामाचौंर–अजिंगरे–आसावाला–फोक्सिङटार सडकको ट्र्याक बैशाख ३१ गते खोलिसकिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले बताए ।
आर्थिक वर्ष २०७९/०८० मा वडा कार्यालय साउनेचौंरले बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको नाप्चुखोला सम्मको ट्र्याक खोलेको थियो । खोटाङबाट भूपेन्द्र राई प्रदेश सांसदमा निर्वाचित भएपछि सो सडकलाई फोक्सिङटारमा जोड्ने गरि योजना अघि बढाइएको साउनेचौंरका वडाध्यक्ष ताराकान्त राईले बताए ।
प्रदेश सरकार वित्तिय हस्तान्तरण र शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाबाट प्राप्त ३५ लाखमा नाप्चुखोलाबाट लामाचौंरसम्मको खण्ड र ६५ लाखमा लामाचौंरको हल्लेखोल्सीबाट राँकुलीखोलासम्मको ट्र्याक खोलिएको थियो ।
बाँकी रहेको करिब ४ किलोमिटर खण्ड भने फोक्सिङटारतर्फबाट खनिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको ५५ लाख २४ हजारमा अन्तिम खण्डको ट्र्याक खोल्ने काम पुरा गरिएको इन्जिनियर दाहालले बताए ।
फोक्सिङटारतर्फबाट सावाखोला, भोर्माखेत हुँदै राकुलीसम्म नयाँ ट्र्याक खोल्नुका साथै सरसफाई तथा ग्याबिन जाली हालिएको छ ।
फोक्सिङटारबाट सुनकोसी तरेर साउने हुँदै गाईघाट जाने सडकको विकल्पमा फोक्सिङटार–साउनेचौंर सडक निर्माण गरिएको निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बताए ।
फोक्सिङटार र साउनेचौंर जोड्ने सडक बनेपछि दिक्तेलबाट फोक्सिङटार–साउनेचौंर हुँदै धाप्लाङघाट जाने आउने बाटो खुलेको छ । फोक्सिङटारको पुल २०८१ असोज १२ गतेको बाढीले बगाएपछि बेलिब्रिज राख्नु र झिक्नुपर्ने वाध्यता छ ।
धाप्लाङघाटको पुल निर्माणाधिन छ । फोक्सिङटारको पुल बन्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने अवस्थामा फोक्सिङटार–साउनेचौंर सडक उपयोगी हुने दावी गरिएको छ ।