लाउडा गोली प्रकरणको २५ वर्ष

दिक्तेलमा अन्तरक्रिया तथा पुनर्मिलन, पीडितलाई न्याय दिन राज्यसँग माग

दिक्तेलमा अन्तरक्रिया तथा पुनर्मिलन, पीडितलाई न्याय दिन राज्यसँग माग

रोदिक खबर

१३, जेठ २०८३
  • 1.9K
    SHARES
  • दिक्तेलमा अन्तरक्रिया तथा पुनर्मिलन, पीडितलाई न्याय दिन राज्यसँग माग

     खोटाङ, १३ जेठ । खोटाङको राजनीतिक इतिहासमा चर्चित तथा संवेदनशील मानिएको “लाउडा गोली प्रकरण” को २५ वर्ष पुगेको अवसरमा दिक्तेलमा अन्तरक्रिया तथा पुनर्मिलन कार्यक्रम गरिएको छ। लाउडा जहाज खरिद प्रकरणको विरोधमा २०५८ साल जेठ १३ गते तत्कालीन ६ बामपन्थी शक्तिले दिक्तेलमा निकालेको मसाल जुलुसमाथि प्रहरीले गोली चलाएको घटनाको स्मरण गर्दै दिक्तेलस्थित होटल शुभदिनमा बुधवार कार्यक्रमको आयोजना गरिएको हो।

    प्रताप राईकी आमा पौवाश्वरी राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आन्दोलनका पीडित परिवारबीच लड्डु खुवाएर पुनर्मिलन गराइएको थियो। कार्यक्रममा सहभागीहरूले तत्कालीन आन्दोलन, त्यसबेलाको राजनीतिक अवस्था, आन्दोलनले समाजमा पारेको प्रभाव तथा पीडित परिवारले वर्षौंदेखि भोग्दै आएको पीडाबारे गम्भीर छलफल गरेका थिए।

    कार्यक्रमका वक्ताहरूले “लाउडा गोली प्रकरण” लाई खोटाङको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको ऐतिहासिक तथा संवेदनशील घटनाका रूपमा स्मरण गर्दै लोकतान्त्रिक अधिकार प्राप्तिका लागि भएका संघर्ष इतिहासमा सधैं जीवित रहने बताउदै आन्दोलनका घाइते तथा पीडित परिवारको योगदानको सम्मान गर्दै राज्यले हालसम्म उचित न्याय, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे।

    d.jpgउक्त आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दिपनारायण रिजाल, दिपेन्द्र राई, प्रताप राई र विद्यामणि तामाङ घाइते भएका थिए। घाइतेमध्ये प्रताप राईको उपचारकै क्रममा चार वर्षपछि मृत्यु भएको थियो। गोली लाग्दा उनी ८ वर्षका थिए।

    राष्ट्रिय मानवअधिकार आयोगले २०७९ वैशाख ८ गते उक्त घटनामा राज्यलाई दोषी ठहर गर्दै पीडितलाई जनही एक लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको भए पनि हालसम्म कार्यान्वयन नभएको घटनाका पीडित दिपनारायाण रिजालले बताए। कार्यक्रममा तत्कालीन आन्दोलनका प्रत्यक्ष सहभागी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    2 (3).jpg

    2 (4).jpg

    प्रकाशित मिति :जेठ १३, २०८३ बुधवार - ०९:५७:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको