खोटाङ, जेठ १९ – खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कडेल सम्मानित भएकी छन्। सृष्टिमाता महिला समाज नेपाल, खोटाङले महिला सशक्तीकरण, लैङ्गिक समानता, सामाजिक न्याय तथा महिलाको नेतृत्व विकासका क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै प्रमुख जिल्ला अधिकारी कडेललाई मंगलवार सम्मान गरेको हो।
दिक्तेलमा आयोजित निर्णायक तहमा महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि क्षमता विकास तथा फोहोर व्यवस्थापन तालिम समापन कार्यक्रमका अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेको सृष्टिमाता महिला समाज नेपाल, खोटाङकी सल्लाहकार मीना कार्कीले जानकारी दिईन ।
सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले प्रमुख जिल्ला अधिकारी कडेलले जिल्लामा कार्यभार सम्हालेदेखि महिला अधिकार, समावेशी सहभागिता, सामाजिक न्याय तथा नेतृत्व विकासका क्षेत्रमा खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गरेका थिए।
संस्थाकी अध्यक्ष जगतकुमारी श्रेष्ठको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा एमाले खोटाङका पूर्व अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कम्युनिस्ट पार्टी खोटाङका संयोजक दीपक पाण्डे, श्रम संस्कृति पार्टीकी उपाध्यक्ष संगीता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपनारायण रिजालले आफ्नो धारणा राखेका थिए।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकी उपसभापति डिल्लीकुमारी आचार्य, दिक्तेल रुपाकोटमा मझुवागढी नगरपालिका महिला शाखा प्रमुख इरन राई, बाम्राङकी वडा सदस्य रेखा रम्तेल, तालिममा सहभागीकाे तर्फबाट सुशिला तिमिल्सिना र डेनुसा बस्नेत लगायतले आआफ्नो धारणा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी कडेलले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै महिला अधिकार, समानता र समावेशी विकासका लागि आगामी दिनमा समेत निरन्तर कार्यरत रहने प्रतिबद्धता व्यक्त गरिन्।