महिलाको नेतृत्व विकास तथा फोहोर व्यवस्थापन तालिम सम्पन्न

महिलाको नेतृत्व विकास तथा फोहोर व्यवस्थापन तालिम सम्पन्न

रोदिक खबर

१९, जेठ २०८३
  • 2.6K
    SHARES
  • महिलाको नेतृत्व विकास तथा फोहोर व्यवस्थापन तालिम सम्पन्न

    खोटाङ, जेठ १९ – खोटाङको दिक्तेलमा निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता तथा नेतृत्व क्षमता विकास तालिम तथा फोहोर व्यवस्थापन तालिम सम्पन्न भएको छ। महिलाको नेतृत्व क्षमता अभिवृद्धि तथा समुदायस्तरमा प्रभावकारी फोहोर व्यवस्थापनको ज्ञान र सीप विकास गर्ने उद्देश्यले जेठ १४ गतेदेखि शुरू भएको तालिम मंगलवार सम्पन्न भएको हो ।

    सृष्टिमाता महिला समाज नेपाल, खोटाङको आयोजना तथा टेवा नेपालको आर्थिक सहयोगमा दिक्तेलस्थित शुभदिन होटलमा जेठ १४ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको नेतृत्व विकास तालिममा जिल्लास्थित विभिन्न राजनीतिक दलका १२ जना महिला प्रतिनिधि तथा सृष्टिमाता महिला समाजका २६ जना गरी ३८ जनाको सहभागिता रहेको संस्थाकी सचिव सविता कार्कीले जानकारी दिईन ।

    तालिममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, निर्णय प्रक्रियामा सहभागिता, आत्मविश्वास अभिवृद्धि, समूह व्यवस्थापन तथा महिलाको राजनीतिक तथा सामाजिक नेतृत्वका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    त्यसैगरी जेठ १७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको फोहोर व्यवस्थापन तालिममा सृष्टिमाता महिला समाजका सदस्य तथा दिक्तेल बजारका विभिन्न टोल विकास समितिका प्रतिनिधिसहित ४० जनाको सहभागिता रहेको थियो। तालिममा फोहोरको स्रोतमै वर्गीकरण, जैविक तथा अजैविक फोहोर व्यवस्थापन, कम्पोस्ट मल उत्पादन, पुनःप्रयोग तथा पुनर्चक्रण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।

    तालिमका सहजीकरण पूर्व नगरप्रमुख दिपनारायण रिजाल, गैरसरकारी संस्था महासङ्घ खोटाङका अध्यक्ष युवराज रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला शाखा प्रमुख इरन राई, बाल सेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेल तथा सम्झना राई लगायतले गरेका थिए।

    उनीहरूले महिला सशक्तीकरण, समुदाय परिचालन, नेतृत्व विकास, वातावरण संरक्षण तथा दिगो फोहोर व्यवस्थापनका विविध पक्षमा प्रशिक्षण दिएका थिए।

    संस्थाकी अध्यक्ष जगतकुमारी श्रेष्ठको अध्यक्षता तथा तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा (एमाले) खोटाङका पूर्व अध्यक्ष रामप्रसाद दंगाल, नेपाल कम्युनिस्ट पार्टी खोटाङका संयोजक दीपक पाण्डे, श्रम संस्कृति पार्टीकी उपाध्यक्ष संगीता राई, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकी उपसभापति डिल्लीकुमारी आचार्य, कार्यपालिका सदस्य मिना कार्की,  वडा सदस्य रेखा रम्तेल तथा सहभागीका तर्फबाट सुशिला तिमिल्सिना र डेनुसा बस्नेत लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

    वक्ताहरूले महिलाको नेतृत्व विकास, निर्णय तहमा अर्थपूर्ण सहभागिता तथा वातावरणमैत्री फोहोर व्यवस्थापन आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

    सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समाज रूपान्तरण तथा वातावरण संरक्षण अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    आयोजक संस्थाले यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै महिलाको सशक्तीकरण, नेतृत्व विकास तथा वातावरणीय संरक्षणका क्षेत्रमा थप प्रभावकारी पहल गर्ने जनाएको छ।

    प्रकाशित मिति :जेठ १९, २०८३ मंगलवार - २१:५९:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको