खोटाङ, २६ जेठ । पूर्वाधार विकास कार्यालय खोटाङले असार १५ भित्र योजना फरफराक गरी भुक्तानी लिन पत्रचार गरेको छ।
पूर्वाधार विकास कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का सम्झौता भएका सबै आयोजनाको फरफारक तथा भुक्तानी प्रक्रियाका लागि आवश्यक कागजात असार १५ गतेभित्र अनिवार्य रूपमा पेश गर्न सम्बन्धित निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई आग्रह गरेको हो।
कार्यालयका प्रमुख तथा इन्जिनियर विनम दाहालद्वारा मङ्गलबार जारी सूचनामा भुक्तानी निवेदन, बिल भरपाई, कार्यस्वीकार प्रतिवेदनलगायतका आवश्यक कागजात तोकिएको समयसीमाभित्र पेश गर्न आग्रह गरिएको छ।
असार १५ गतेपछि प्राप्त हुने कुनै पनि निवेदन दर्ता नगरिने स्पष्ट गरिएको छ। कार्यालयले बहुवर्षीय आयोजना बाहेकका सालवसाली आयोजनाका हकमा आगामी आर्थिक वर्षका लागि बजेट सुनिश्चितता नहुने र कुनै प्रकारको म्याद थपसमेत नहुने जनाएको छ।
तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा नगरी भुक्तानी छुट हुन गएमा त्यसको जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले वहन गर्नुपर्ने तथा त्यसपछिको कुनै पनि भुक्तानी माग वा दाबीप्रति कार्यालय जिम्मेवार नहुने सूचनामा उल्लेख गरिएको छ।
पूर्वाधार विकास कार्यालयले सम्झौता भएका सबै आयोजनाका जिम्मेवार पक्षलाई समयमै आवश्यक कागजात पेश गरी आयोजना फरफारक तथा भुक्तानी प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको लेखा अधिकृत सीताराम राउतले बताए ।
